© २०२३
काठमान्डौ, १९ असोज ।
शुक्रवार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म २२ जनाको ज्यान गएको छ ।
इलाममा मनसुनजन्य विपद्बाट १८ जनाको मृत्यु भएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङ लागेर ३ जनाको ज्यान गएको प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेप्रसाद भट्टले जानकारी दिए ।
उदयपुरमा २२ जना सवार हाइस खोलामा हाल्दा दुर्घटना भएको थियो । २२ मध्ये २१ जनाको उद्धार भए पनि एक जनाको खोलाले बगाउँदा मृत्यु भएको छ । इलाममा एक गर्भवती महिलालाई उद्धार गर्न हेलिकोप्टर पठाइएको जानकारी पनि दिइएको छ ।
उक्त क्षेत्रमा गिरेबी खोलामा केही मानिसहरू डुबानमा परेकाले उद्धारका लागि सुरक्षा निकाय परिचालित गरिएको छ । समस्या भएका स्थानमा स्थानीय स्वयंसेवक र सुरक्षाकर्मी सक्रिय छन् ।
कार्यकारी प्रमुख भट्टका अनुसार मनसुन अहिले पूर्वी नेपालमा सक्रिय छ । बिहानैदेखि पानीको मात्रा बढेको र पाँच वटा ठूला नदीमा बाढीको जोखिम रहेको छ । यसै कारण पूर्वी क्षेत्रका सडक तथा यातायात अझै बन्द रहेको छ ।
भट्टले विपद्को जोखिम कायमै रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन र सुरक्षा उपाय अपनाउन आग्रह गरेका छन् ।