© 2026
काठमान्डौ, १७ असोज ।
निरन्तरको वर्षाका कारण कोशी र बागमती प्रदेशका पाँच स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । बाढी र पहिरोका कारण यातायात अवरुद्ध भएपछि स्थानीय बासिन्दा र यात्रुहरूलाई आवागमनमा कठिनाइ भएको छ ।
नेपाल प्रहरीले आज बिहान ७ बजे सार्वजनिक गरेको विवरण अनुसार, संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४, बरुण र मकालु गाउँपालिका–३, एकुवा क्षेत्रमा वर्षाका कारण सडक पूर्णरूपमा अबरुद्ध भएको छ ।
त्यसैगरी, बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन जोड्ने पुलनजिकको सडक पूर्णरूपमा बन्द भएको छ । सोही गाउँपालिकाको पासाङ ल्हामु राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल–चीन सीमा क्षेत्रको उक्त सडकखण्ड गत असार २४ गतेदेखि नै बाढीका कारण प्रभावित बनेको हो भने पासाङ ल्हामु सडक भने असोज १६ गते गएको पहिरोका कारण नयाँ रूपमा बन्द भएको हो ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, चारकिलो भन्ने स्थानमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, सम्बन्धित स्थानमा सडक खुलाउन आवश्यक समन्वय र प्रयास भइरहेको छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
