© 2026
काठमान्डौ, १७ असोज ।
देशका अधिकांश भागमा आज वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले शुक्रबार बिहान जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार आज देशभर आकाश सामान्यदेखि पूर्ण रूपमा बदली रहनेछ ।
दिउँसोको मौसम पूर्वानुमानअनुसार, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । यस्तै, मधेस प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेशका तराई क्षेत्र, कर्णाली प्रदेश तथा बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज रातिको मौसम पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराई क्षेत्र, साथै मधेस प्रदेशका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोसी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।