© २०२३
काठमान्डौ, १७ असोज ।
चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख वर्ष पुरानो एक खोपडीको डिजिटल पुनर्निर्माणले मानव विकासबारे प्रचलित धारणामा चुनौती प्रस्तुत गरेको छ । वैज्ञानिकहरूका अनुसार, आधुनिक मानवका पुर्खाहरू पहिला सोचिएभन्दा झन्डै चार लाख वर्ष अघिदेखि नै फरक–फरक समूहमा विभाजित भइसकेका थिए ।
यो विभाजनको प्रक्रिया परम्परागत मान्यताभन्दा फरक गरी अफ्रिकाभन्दा पहिले एसियामा सुरु भएको संकेत पनि हालैको अध्ययनले देखाएको छ ।
‘युन्जियन–२’ नाम दिइएको उक्त खोपडी प्रारम्भमा होमो इरेक्टसको अवशेषको रूपमा चिनिएको थियो । तर, अत्याधुनिक सीटी स्क्यानिङ, स्ट्रक्चर्ड लाइट इमेजिङ र भर्चुअल पुनर्निर्माण प्रविधिबाट गरिएको अध्ययनले उक्त खोपडीमा होमो लोङ्गी र होमो सेपियन्ससँग मिल्ने विशेषताहरू रहेको देखाएको छ ।
यस खोजले मानव विकासको इतिहासमा अझ धेरै पहिले नै जटिलता देखा परेको सम्भावनालाई पुष्टि गर्दै आएको अनुसन्धान टोलीको निष्कर्ष छ ।
लन्डन नेचुरल हिस्ट्री म्युजियमका प्रख्यात मानवशास्त्री तथा अनुसन्धान टोलीका सदस्य क्रिस स्ट्रिङ्गरका अनुसार, “झन्डै १० लाख वर्षअघि नै हाम्रा पुर्खाहरू विभिन्न मानव समूहमा विभाजित भइसकेका थिए, जुन पूर्वानुमानभन्दा धेरै पहिलेको कुरा हो ।”
परम्परागत रूपमा प्रारम्भिक मानवहरूको उद्गम र विस्तार अफ्रिकाबाट भएको मानिँदै आएको छ । तर हालको अनुसन्धानले यस मान्यतालाई पुनर्विचार गर्नुपर्ने संकेत दिएको छ ।
अष्ट्रेलियास्थित ग्रिफिथ विश्वविद्यालयका प्राध्यापक माइकल पेट्राग्लियाका अनुसार, “पूर्वी एसिया मानव विकासको सम्भावित केन्द्रको रूपमा देखा पर्न थालेको छ ।”
यो अनुसन्धान साइन्स जर्नलमा प्रकाशित भएको हो । अध्ययनकर्ताहरूले उक्त खोपडीलाई एक सयभन्दा बढी अन्य मानव अवशेषहरूसँग तुलना गरेका थिए, जसबाट युन्जियन–२ को विशिष्टता प्रस्टिएको हो ।