© २०२३
काठमान्डौ, १६ असोज ।
बेलायतको अल्डरसटस्थित फ्लीट रोडमा कारको ठक्करबाट दुई नेपाली वृद्ध पैदलयात्रीको मृत्यु भएको छ । ह्याम्पशायर प्रहरीका अनुसार, बुधबार बिहान करिब ६ः३० बजे निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षका दुई पुरुषको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनापछि वकिङहाम निवासी ६६ वर्षीय चालकलाई मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी सञ्चालन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ र प्रत्यक्षदर्शीलाई सम्पर्क गर्न आह्वान गरेको छ ।
प्रहरीले दुर्घटनाको समयमा आसपासको क्षेत्रका सीसीटीभी फुटेज वा ड्यासक्याम भिडियो उपलब्ध गराउन विशेष अनुरोध गरेको छ । जानकारी दिन चाहनेले फोन नम्बर १०१ मा सम्पर्क गरी रेफरेन्स नम्बर ४४२५०४४३४८८ उल्लेख गर्न सक्नेछन् ।
दशैंको अवसरमा घटेको यस दुखद घटनाले बेलायतस्थित नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ । नेपालीहरूको ठूलो बसोबास रहेको अल्डरसट शहरमा समुदाय स्तब्ध भएको बताइएको छ ।