© २०२३
काठमान्डौ, १६ असोज ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमा आफूबारे फैलाइएको भ्रमपूर्ण सूचनाको खण्डन गरेका छन् । विशेषतः आफ्ना सन्तानलाई करोडौं रुपैयाँ खर्चेर विदेशमा पढाएको आरोपप्रति उनले कडा प्रतिक्रिया जनाउँदै आफ्नो व्यक्तिगत आर्थिक स्रोत शून्य रहेको स्पष्ट पारेका छन् ।
मन्त्री पुनले बिहीबार फेसबुकमार्फत एक पोस्ट सार्वजनिक गर्दै आफ्नो जीवनशैली, आय–व्यय, र सामाजिक योगदानबारे खुलासा गरेका हुन् ।
उनका अनुसार, अमेरिकाबाट फर्किएको ३२ वर्षयता उनले कुनै पनि व्यक्तिगत आम्दानी गरेका छैनन् । आफ्नो, श्रीमती र छोरीहरूको दैनिक खर्च शुभेच्छुक, साथीभाइ र सहयोगीहरूको सहयोगमा सञ्चालन हुँदै आएको उनले स्पष्ट पारेका छन् ।
डा. पुनले मन्त्री पदमा रहे पनि तलब–भत्ता नलिएको जानकारी दिएका छन् । साथै, कुनै कार्यक्रम वा भ्रमणमा सहभागी हुँदा लाग्ने हवाई, बस वा ट्याक्सी भाडासमेत आफैंले तिर्दै आएको उल्लेख गरेका छन् ।
उनले आफूले सञ्चालन गरिरहेका सामाजिक कार्यहरू, जस्तैः २०० भन्दा बढी गाउँमा इन्टरनेट पुर्याउने, ७ वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्रमार्फत प्रतिभाहरूलाई निःशुल्क हुर्काउने, कोरोना महामारीमा स्वास्थ्य सामग्री वितरण र ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना पुर्नसञ्चालन गर्ने कामहरूमा आम जनताबाट प्राप्त दानकै भर परेको उल्लेख गरेका छन् ।
फेसबुक पोस्टमा डा. पुनले लेखेका छन्, ‘मेरो बारेमा यथार्थ बुझ्न चाहनेले मेरो आत्मकथा पढ्न सक्नुहुन्छ।’
मन्त्री पुनले सम्पूर्ण विषयवस्तु विस्तृत रूपमा बुझ्न चाहनेले आफ्नो आत्मकथा पढ्न सुझाव दिएका छन् ।