© २०२३
काठमान्डौ, १३ असोज ।
अर्थ मन्त्रालयले अबदेखि १५ सय अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा साथमा राख्न नपाइने स्पष्ट गरेको छ । मन्त्रालयले बुधबार राति सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत सूचना सार्वजनिक गर्दै वित्तीय अनुशासन कडाइ गरिएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार, वैदेशिक भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा नगदमा अधिकतम १५ सय अमेरिकी डलर वा सो बराबरको परिवर्त्य मुद्रा मात्र राख्न पाइनेछ ।
यस्तै, विदेशबाट नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्मको नगद रकम भन्सारमा घोषणा नगरी ल्याउन सक्ने व्यवस्था पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
५ हजार डलरभन्दा बढी रकम भएमा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गर्नुपर्नेछ ।
सूचनामा उल्लेख भएअनुसार, स्रोत खुलेको रकमलाई नगदमै सुरक्षित राख्न वा प्रयोग गर्न कुनै प्रतिबन्ध छैन । तर, स्रोत नखुलेको रकममाथि भने ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४’ अनुसार अनुसन्धान हुने अर्थ मन्त्रालयले चेतावनी दिएको छ ।
मन्त्रालयका अनुसार प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको रकमभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्नेछ।
अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम राख्न यही असोज ५ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा-सुविधा मात्र प्रदान गर्न पत्राचार गरिएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।