Butwal Today

गाजामा युद्धविरामका लागि ट्रम्पका २० बुँदे योजना, हमासले माने सार्वजनिक हुनेछ विपिनको अवस्था

१४ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १४ असोज ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविरामको प्रस्तावमा सहमति जनाएका छन् । सोमबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्तापछि नेतन्याहुले शान्ति स्थापना गर्ने योजनामा सहमति व्यक्त गरेका हुन् ।

भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले २० बुँदे युद्धविराम योजना सार्वजनिक गरे । योजनामा गाजामा युद्ध रोक्ने, सबै बन्धक रिहा गर्ने र गाजाको प्रशासनका लागि अस्थायी बोर्ड स्थापना गर्ने प्रस्ताव समावेश छ । बोर्डको अध्यक्षता ट्रम्पले गर्नेछन् भने यसमा बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर पनि सामेल हुनेछन् ।

यी हुन् ट्रम्पले तयार पारेका २० बुँदा :

१. तत्काल युद्ध अन्त्य- इजरायल र हमास सहमत भए भने गाजामा युद्ध तुरुन्तै रोकिनेछ ।

२. इजरायल फिर्ता- सम्झौता भएपछि इजरायलले गाजाबाट बिस्तारै आफ्ना सेना फिर्ता गर्नेछ ।

३. बन्धकहरूको रिहाइ- हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्धक (जीवित-मृत) रिहा गर्नेछ (यसमा नेपालका विपिन जोशी पनि पर्नेछन्)

४. कैदीहरूको रिहाइ- युद्धको अन्त्यमा इजरायलले गाजामा आजीवन कारावास भोगिरहेका २५० जना र १ हजार ७०० कैदी रिहा गर्नेछ ।

५. शरीर आदानप्रदान- प्रत्येक मृत इजरायली कैदीबापत १५ जना मृत प्यालेस्टिनी कैदीको शव फिर्ता गरिनेछ ।

६. गाजा आतंकवादमुक्त बनाउने- गाजाबाट सबै हमास अड्डा र हतियार हटाइनेछ ।

७. प्रशासनमा हमास हुने छैन- हमास र अन्य मिलिसिया गाजा सरकारमा भाग लिने छैनन् ।

८. अन्तरिम प्रशासन समिति- गाजाका लागि एक अस्थायी प्राविधिक समिति गठन गरिनेछ, जसमा योग्य व्यक्तिहरू रहेनछन् ।

९. शान्ति बोर्ड- यो बोर्डको अध्यक्षता अमेरिकाका राष्ट्रपति ट्रम्पले गर्नेछन् र यसमा टोनी ब्लेयर र अन्य देशका नेता समावेश हुनेछन् ।

१०. पुनर्निर्माण योजना- बोर्डले गाजाको विकास र सुधारको योजना र कोष प्रदान गर्नेछ ।

११. मानवीय सहायता- गाजालाई तुरुन्तै पर्याप्त सहायता प्रदान गरिनेछ ।

१२. विशेष व्यापार क्षेत्र –गाजामा विशेष व्यापार क्षेत्रहरू स्थापना गरिनेछ, जसले रोजगारी बढाउनेछ ।

१३. जनताको स्वतन्त्रता- कसैलाई पनि गाजा छाड्न बाध्य पारिने छैनस जो चाहन्छ उसले भने छाड्न र फर्कन सक्छ ।

१४. सुरक्षा बल- गाजामा अन्तर्राष्ट्रिय सुरक्षा बलले सुरक्षा दिनेछ ।

१५. प्रहरी तालिम- सुरक्षा बलले गाजा प्रहरीलाई तालिम र सहयोग गर्नेछ ।

१६. सीमा सुरक्षा- इजरायल र इजिप्टसँगको सिमानामा सुरक्षा बलियो बनाइनेछ ।

१७. शत्रुताको अन्त्य- हवाई हमला र गोलाबारी बन्द हुनेछ ।

१८. मानव अधिकार सुनिश्चित- अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा सहायता र सुरक्षाको निगरानी गर्नेछन् ।

१९. शान्ति वार्ता- इजरायल र प्यालेस्टाइनबीच शान्ति वार्ता सुरु हुनेछ ।

२०. आगामी योजना- यो योजनाले गाजामा दिगो शान्ति, विकास र राम्रो जीवन ल्याउने लक्ष्य राखेको छ ।

तर, यस योजनामा हमासको सहमति अझै बाँकी छ । ट्रम्प र नेतन्याहुले हमासलाई योजना स्वीकार गर्न आग्रह गरेका छन् र अस्वीकृत गरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्  ।

यो युद्धविराम र बन्धक रिहाइ नेपालका लागि पनि महत्वपूर्ण छ । इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशी हाल हमासको कब्जामा रहेका छन् । उनका फोटो हमासले सार्वजनिक गरिसकेको छ, तर उनको वर्तमान अवस्था अझै निश्चित हुन सकेको छैन । यदि हमासले योजना स्वीकार गरेमा विपिनको स्थिति चाँडै जानकारीमा आउने अपेक्षा छ ।