Butwal Today

सार्वजनिक ऋण २७ खर्ब नाघ्यो, प्रतिव्यक्ति भार ९४ हजार 

१४ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १४ असोज ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्म देशको सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ । यो २०७८ सालको जनगणना अनुसार प्रतिव्यक्ति ऋणभार ९४ हजार ६५ रुपैयाँ हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार ३५ वर्षअघि २०४७ सालमा प्रतिव्यक्ति ऋण २ हजार ८४२ रुपैयाँ मात्र थियो भने कुल सार्वजनिक ऋण ५१ अर्ब ४७ करोड थियो । २०८१ चैत मसान्तसम्म आइपुग्दा सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब नाघिसकेको छ ।

हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा सार्वजनिक ऋण ४३.९ प्रतिशत छ, जुन २०४७ सालको तुलनामा ६.८ प्रतिशत बिन्दुले कम हो । तर प्रतिव्यक्ति आयको तुलनामा ऋण भार निकै बढेको देखिन्छ ।

सरकारले सार्वजनिक ऋण उत्पादनशील क्षेत्रमा मात्रै प्रयोग हुँदै आएको दाबी गर्दै आय, उत्पादन र रोजगारी बढाउनेतर्फ सचेत रहेको जनाएको छ । हाल नेपालको ऋणभार अन्य मुलुकको तुलनामा न्यून रहेको दाबी पनि प्रधानमन्त्री कार्यालयले गरेको छ ।