© २०२३
काठमान्डौ, १४ असोज ।
जेन–जी आन्दोलनपछिका घटनाले देशभर मानसिक स्वास्थ्य समस्या बढाएको चिकित्सकहरूले बताएका छन् । आन्दोलनपछि नयाँ बिरामी उपचारका लागि अस्पताल पुग्न थालेका छन् भने विगतमा निको भइसकेकाहरूमा पनि समस्या पुनः बल्झिएको देखिएको छ ।
पाटन मानसिक अस्पतालका निर्देशक डा. सुरज तिवारीका अनुसार उपचाररत बिरामीमध्ये कतिपयको समस्या झन् गम्भीर बन्दै गएको छ ।
भदौ २३ र २४ गते भएको आन्दोलनमा ७६ जनाले ज्यान गुमाए भने थुप्रै सार्वजनिक भवनमा आगजनी भयो । आन्दोलनकै कारण सत्ता परिवर्तन भयो र देशभरका विभिन्न कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी फरार भए । कसैले परिवार वा साथी गुमाए, कसैले व्यवसाय वा रोजगारी, जसका कारण ठूलो संख्यामा मानिसहरूमा तनाव र मानसिक अस्वस्थता देखिएको डा. तिवारीले बताए ।
उनका अनुसार यसरी आघातपूर्ण घटना व्यहोरेका व्यक्तिहरूमा डर, असुरक्षा र चिन्ता बढ्ने, निन्द्रा नलाग्ने, खानपिनमा अनियमितता आउने, शरीरमा झमझमाहट हुने, रमाइलो गतिविधिप्रति चासो हराउने जस्ता लक्षण देखिन सक्छन् ।
डा. तिवारीले यस्ता लक्षण दुई साताभन्दा लामो समयसम्म रहिरहेमा ढिला नगरी मनोचिकित्सक, मनोवैज्ञानिक वा परामर्शदाताको सहयोग लिन आग्रह गरेका छन् । उनका अनुसार प्रारम्भिक चरणमै उपचार गरिए मानसिक स्वास्थ्य सहजै सामान्य अवस्थामा फर्किन सक्छ ।