© २०२३
काठमान्डौ, १४ असोज ।
आज दशैँको महाअष्टमी, घरघरमा खसी, बोका, राँगा, च्याङ्ग्रालगायतका पशुबलि दिई मासु खाने परम्परा रहेको छ । तर मासु सेवन गर्दा स्वास्थ्य जोखिम कम गर्न चिकित्सकहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
फिजिसियन डा. भोजराज अधिकारीका अनुसार मासु आफैंमा हानिकारक नभए पनि पकाउने तरिकाले यसलाई अस्वस्थ बनाउन सक्छ । एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाने बानीले रोगलाई बढावा दिने उनले बताए । ताजा र बोसो कम भएको मासु सानो परिमाणमा मात्र खाने, मासु पोलेर वा तारेर खाने बानी कम गर्ने, र मासुसँगै सागसब्जी, गेडागुडी र फलफूल पनि पर्याप्त मात्रामा सेवन गर्ने उनको सुझाव छ ।
चितवनस्थित पुष्पाञ्जली अस्पतालका डा. अधिकारीले दशैँताका खानपानमा ध्यान नदिँदा उच्च रक्तचाप, मुटु रोग, मधुमेह, पेटजन्य समस्या, झाडाबान्ता, कब्जियत, युरिक एसिड वृद्धि र ग्यास्ट्रिकका बिरामी उल्लेख्य मात्रामा बढ्ने बताएका छन् ।
त्यस्तै शाकाहारीले पनि बढी मात्रामा मिठाइ, पनीर वा चिल्लो पदार्थ नखान उनले आग्रह गरेका छन । साथै, खानपानबीच कम्तीमा चार घण्टाको अन्तराल राख्नु स्वास्थ्यका लागि लाभदायी हुने चिकित्सकहरूको सुझाव छ ।