© २०२३
नेपालीमात्रको ठुलो पर्व दसैँको रौनकले घर आँगनमा उत्साह सुरु भैसकेको छ । दसैँमा खास गरी मान्यजनको हातबाट आशिर्बाद लिने र मासु खाने रमाउने नेपाली परम्परा हो ।
यो वर्ष अर्को संयोग जुरेको छ । त्यो हो विश्व मुटु दिवसको । दसैँमा मिठो कुरा खाने प्रसङ्ग चलिरहँदा आज मुटु दिवस पनि हो । कतिपय हाम्रा खानेकुराले मुटुलाई हानी गर्दछ । अतः दसैँमा मिठो खानपान गर्दै मुटु दिवस मनाउँदै गर्दा मुटुको जोखिमबाट बच्नेतर्फ सतर्कता आवश्यक छ । चाडपर्व आउँछन् जान्छन् । शरीर स्वास्थ्य भएन भने चाडपर्वमा महत्त्व र अर्थ पनि हुँदैन । तसर्थ मुटु जोगाउँदै चाडपर्व मनाऔँ ।
प्रसङ्ग बडादसैँको भएकोले यो पर्वमा मिठो खानेकुरा खाँदै गर्दा सन्तुलित खानपानतर्फ ध्यान दिऔँ । स्वास्थ्यलाई ख्याल गरेर पनि चाडपर्व मनाउन सकिन्छ । अतः मुटु दिवसको संयोग समेत परेको अवस्थामा हाम्रो भान्सा मुटुमैत्री होस् । कोही पनि नागरिक गलत खानपानका कारण मृत्युको जोखिममा पर्नु नपरोस् । यो वर्षको बडादसैँको यही शुभकामना । हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउने गरिएको छ ।
हालैको राजनैतिक उथलपुथल र देशका विभिन्न स्थानमा प्राकृतिक प्रकोपको जोखिमका बिच मुलुक अनिश्चयको अवस्थामा सबै नेपालीको घरमा बडादसैँ खुसी बनेर आएको छ ।
आम नेपालीले दसैँ हर्षोल्लासपूर्वक मनाउने वातावरण सिर्जना हुनुपर्दछ । सङ्घीय राजधानीमा बसोबास गर्ने नेपालीको सङ्ख्या ठुलो छ । हरेक वर्ष राजधानी छोडेर आफ्नो थातथलो जानेको सङ्ख्या २० देखि २४ लाख हुने गरेकोमा यस पटक १० लाख मानिस मात्रै आफ्नो जन्मस्थान फर्किने अनुमान गरिएको छ ।
बजारमा भीडभाड देखिएपनि राजधानीलगायत मुख्य शहर छोडेर जानेको सङ्ख्या न्यून रहेपछि गाउँबस्तीमा दशैँको रौनकता देखिएको छैन । जसको कारण गाउँबस्तीको दसैँ पनि उल्लासमय नहुनेजस्तै देखिन्छ । वर्षमा एकपटक आउने चाडपर्वले आम नेपालीलाई एउटै सूत्रमा बाँध्ने काम गर्ने भएकोले अहिलेको विषम परिस्थितिमा पनि संयमित भएर दसैँ मनाउने वातावरण हामी आफैले निर्माण गर्नुपर्दछ ।
बडादसैँको यो अवसरमा जनतामा बढ्दै गएको निराशा चिर्ने काम सरकारबाट तत्कालै हुन जरुरी छ । शोक र भोेकमा डुबेका नेपालीलाई मलमपट्टी लगाउने काम सरकारको हो । सरकारले यसतर्फ ध्यान दिनुपर्नेछ । देश–विदेशमा रहेका आम नेपालीले आफू जुन ठाउँमा बसेको भए पनि बडा दसैँलाई हर्षोल्लासपूर्वक मनाएर आफ्नो धर्म–संस्कृति जोगाउने कामबाट पछि हट्नुहुँदैन ।
नेपालीको मौलिक संस्कृतिको रूपमा रहेको यो पर्व सबैले मिलेर मनाऔँ । अर्कोतर्फ बडादसैँ मनाउँदै मिठो मिठो खानेकुरा खाँदै गर्दा स्वास्थ्यलाई पनि ख्याल गरौँ । त्यसै पनि नेपालमा प्रत्येक वर्ष मुटु रोगीहरूको सङ्ख्या अप्रत्याशित रूपमा बढ्दै गएको सार्वजनिक भएको छ । मुटु रोगका कारणहरूमा खानपानमा असन्तुलन, अनियमितता, मद्यपान, चिल्लो र बोसोयुक्त खाद्य पदार्थ र धुम्रपान प्रमुख कारण रहेका छन् ।
दसैँमा यस्तै खानेकुरा बढी खपत हुन्छ । मुटु सुरक्षा आजको प्रमुख चुनौतीका रूपमा देखा परेको छ । नेपालमा खाद्यान्नमा रासायनिक मलको प्रयोग बढ्दै गैरहेको छ । जसका कारण स्वास्थ्यमा चुनौति बढ्दो छ । मुटु रोगबाट बच्ने उपाय भनेको खानामा सन्तुलन पनि हो । अनेक विषादीयुक्त खानाका बिचमा पनि सन्तुलन आजको आवश्यकता हो ।
अर्को चिन्ता के छ भने अहिले बालबालिकाहरू समेत मुटुको जोखिममा पर्दै गएका छन् । नेपालमा ३० लाख व्यक्ति कुनै न कुनै रूपमा मुटु रोगले पीडित रहेको चिकित्सकहरूको भनाई छ । अतः विश्व मुटु दिवसको पूर्व सन्ध्यामा मुटु रोगबाट बच्न सतर्कता अपनाउनेतर्फ हामी सबैको ध्यानाकर्षण हुनुपर्दछ ।
अहिलेको मानव स्वास्थ्यको सबैभन्दा पहिलो आवश्यकता मुटुको सुरक्षा हुनुपर्दछ । मुटु नभए मानव शरीरको कुनै अस्तित्व रहँदैन । तसर्थ मुटु सुरक्षामा ध्यान दिँदै बडादसैँ मनाऔँ । फेरी पनि बडादसैँको मङ्गलमय शुभकामना ।