Butwal Today

पर्वसँग पातको साइनो

१३ आश्विन २०८२, सोमबार
अ+
अ-

बुटवल, १३ असोज । 
भवानी दमाई उमेरले ४४ वर्षकी भइन । नातिनी सहितको ६ जनाको परिवार बुटवलको मजुवामा बस्दै आएकी छन् । रोजगारीका लागि गुल्मीबाट बुटवल झरेकी भवानीले यहीँ आफ्ना सन्तानको भविष्य बनाइन । नपढेकी भवानीले आर्थिक जोहोका लागि लामो समयसम्म घर बनाउने लेबरको काम गरिन ।

त्यसैबाट आएको पैसाले घर खर्च चलाउने उनको बाध्यता थियो । श्रीमान् र आफू दुवै जनाले यसरी नै काम गर्ने र परिवारको खर्च चलाउँदै आएकी थिइन ।  आठ वर्ष अगाडिबाट भवानीको पेसा परिवर्तन भएको छ । उनले अरू काम गर्न छाडेर आफू एक्लैले गर्न सक्ने व्यवसाय रोजिन ।

जहाँ मिहिनेत छ तर लगानी शून्य छ । आफ्नो छिमेकीले नजिकैको वनबाट सालको पात ल्याएर बेच्ने गरेको देखेपछि उनलाई पनि यो काम सुरु मन लाग्यो । अनि सुरु गरिन पात टिप्ने अनि बेच्ने व्यवसाय ।

उनी लेबरको काम छाडेर बुटवलको बजारमा सालका पात बेचिरहेकी छिन् । सुरुमा कस्तो हुन्छ होला भन्ने थियो । बिस्तारै यहीँ काम भवानीका लागि फलदायी बन्यो । बिहानै जङ्गल पुग्यो । राम्रा सर्लक्क परेका सालका पात टिप्यो अनि बजारमा बेच्यो । यो उनको आँठ वर्ष देखिको दैनिकी हो ।

भवानी भन्छिन्–‘यो काम मैले बुटवल बजारमा सुरु गर्दा जम्मा पाँच जना जति थियौँ । अहिले २५ जना भन्दा धेरै भएका छौँ । मैले त वर्ष दिन नै पात बेच्छु । कहिले धेरै कहिले थोरै आम्दानी हुन्छ तर यहाँ सिर्जनमा बेच्नेहरू धेरै छन् । अहिलेको समय सालको पातको व्यवसाय हुने सिजन हो ।

व्यापार गर्न भ्याई नभ्याई छ । आजभोलि नजिकका वनमा पात छैन । पात लिन हामी रुद्रपुरको जङ्गल वा नवपरासीको सुनवलको वनमा पुग्छौ । त्यहाँ राम्रो बलिया पात पाइन्छ । मैले पनि ग्राहकलाई राम्रा पात दिनुपर्छ भनेर टाढा पुग्छु । बजारमा पातको माग साउन महिनासँगै सुरु हुन्छ अनि तिहार सम्म धेरै हुन्छ ।

त्यसपछि बिहे पूजाआजा, मृत्युको काममा धेरै सालका पातको प्रयोग हुन्छ । पातको मुठालाई बेसिजनमा ४० रुपियाँ र अहिलेको सिजनमा ७० देखि ८० रुपियाँ सम्ममा बिक्री गरिरहेकी छु । भवानीले पातसँगै टपरी गाँसेर पनि बिक्री गर्ने गर्दछिन। एउटा टपरीलाई २० रुपियाँका दरले बिक्री हुने गर्दछ ।

त्यसै गरी साना दुनालाई प्रतिगोटा १० रुपियाँका दरले बिक्री हुन्छ । केही समय अगाडि मेसिनले सालको टपरी बनाउने गरेको भए पनि भवानीको व्यवसायलाई केही असर नपरेको उनको तर्क छ । पूजाका लागि हातैले बनाएको टपरी शुद्ध पातले बनाएको नै हुन्छ भनेर आउनेहरू आफ्ना धेरै ग्राहक रहेको बताइन ।

सुर्खेत पञ्चपुरीका भीमबहादुर बुढाको परिवार नै सालको पातमा आश्रित छन् । श्रीमान्–श्रीमती, दुई छोरी र एक छोरा पढाइ बाहेक हाट बजारमा व्यस्त हुन्छन् ।
श्रीमान् बुटवल बजारमा छोरा सहित पात मिलाउने र बेच्ने गर्दछन् भने श्रीमती बजार लाग्ने दिनमा दीपनगरको बजारमा पुग्दछिन् ।

यही पातबाट नै उनीहरूले आफ्ना सन्तानको लालन पालन, शिक्षा र आवश्यकताहरू पुरा गरिरहेका छन् । बुढा दम्पती बिहानै ४ बज्न नपाउँदै घरबाट निस्कन्छन् । कहिले रुद्रपुर त कहिले नवपरासीको सुनवल उनीहरूको गन्तव्य हो ।

त्यहाँ पुगेर पात रोज्नु, टिप्नु र बोरा बोकेर हाटबजारसम्म आइपुग्दा दिनको मध्यान्न भइसक्छ । त्यसपछि पातको व्यवस्थापन गरेर बेच्नु बुढा दम्पतीको दैनिकी हो ।
भीमबहादुर भन्छिन् नजिकका सामुदायिक वनमा पात नै छैन । ठुला रुखहरूमा चढेर टिप्न समस्या छ । त्यसैले बाध्यताले हो टाढा जाने । नजिकैको वनमा छैन ।

अलि अलि भए पनि वन पालेहरूले दुख दिन्छन् । त्यसैले पनि टाढा जाने हो रुद्रपुर नवलपरासीको वनमा समस्या छैन । साना पोथ्रामा पात नि सुकिला छन् । ग्राहक पनि खुसी हुन्छन् । तर यसरी गर्ने व्यवसायलाई नगरपालिकाले दुख दिएको गुनासो छ । यहाँ बस्दा नगर प्रहरीले भाग्ने बनाउँछन् ।

बाटोमा किन बसेको हो भन्छ । पात पनि नभनेर लैजान्छ । भित्र म मात्रै बसेर भएन अरू यही बसे पछि म नि बस्नु बाध्य छु । बजार व्यवस्थापन समितिलाई दैनिक २० रुपियाँ बुझाएर बस्दा पनि दुख छ । बरु हामीलाई नगरपालिकाले बस्ने स्थान दिए त हामी सबै त्यही गएर बस्ने थियौ बसढा गुनासो गरे ।

उनीसँगै राम शोभा दमाई पनि ३ वर्ष यता यही ठाउँमा सालका पातहरू बेचेर गुजारा चलाई रहेकी छन् । ५५ वर्षकी दमाईले पहिले शरीरमा बल रहँदा सम्म लेबर काम गरे अब त कसैले काम दिदैनन । त्यसैले यो काम सुरु गरेकी हुन् । दिनमा १५ देखि २० वटा मुठा बिक्री हुन्छ यसैले दैनिकी चली रहेको छ ।

बुटवलको हाटबजारको मुखैमा हरिया पातले सजिएको बजार देखिन्छ । लाइनसँगै बसेका धेरैले पात मिलाउँदै मुठा बनाउँदै ग्राहकसँग मोलमोलाई गरिरहेका भेटिन्छन् ।
पारिवारिक निजी वन महासङ्घका अध्यक्ष जोगराज गिरीले वातावरणीय हिसाबले झरेर खेर जाने सालका पात टिप्दा रुखलाई केही हानी नहुने भन्दै वनले वातावरणीय परीक्षण गरेर कति कुन्डल पात टिप्न सकिन्छ भन्ने अड्कल गर्न सकिन्छ । तर धेरै वनहरूले वातावरणीय परीक्षण गर्न महँगो पर्ने हुनाले गरेका छैनन् ।

त्यसैले पनि सहज रूपमा पात टिप्न नसकिएको हो । सालको रुखको आयु ८० वर्ष सम्म हुने र सालको रुखलाई किराहरूले सहज रूपमा आक्रमण नगर्ने यसको आयु र बलियोपन मान्छेसँग मिलोस् भनेर पनि हाम्रा चाडपर्वमा सालको पातको प्रयोग गर्ने वैज्ञानिक आधार रहेको गिरीको भनाई छ ।