© २०२३
पाल्पा, १३ असोज ।
तिनाउ गाउँपालिका, सत्यवतीका ८० वर्षीय सुनविर गाहाउमेरकाले बताएअनुसार, बाल्यकालदेखि प्रयोग हुँदै आएका नुनमार्ग हराउँदै गएका छन्। पहिले यी बाटो व्यापारीक र महत्वपूर्ण थिए; नुनदेखि सुनसम्म बोक्ने काम यिनै बाटो हुँदै हुन्थ्यो। डोको र बोरा भारी भए पनि पैदल हिँड्नेहरूको जोश र उत्साह उच्च हुन्थ्यो। अहिले ती पुराना बाटोका नाम–निशान मात्र बाँकी छन्।
सिद्धार्थ राजमार्ग निर्माण हुनु अघि तत्कालिन पश्चिमाञ्चलका १४ जिल्ला, प्युठान, रुकुम, रोल्पासम्मका व्यापारीहरू बुटवल हुँदै अत्यावश्यक सामान बोकेर पैदल यात्रा गर्थे। तिनाउ गाउँपालिका, मरामकोट, मस्याम हुँदै गुज्रने पैदलमार्गले गाउँमा जीवन्तता भर्थ्यो। बाटोमा यात्रा गर्नेहरू कहिले खाली हुँदैनथे, र पैदलमार्ग वरिपरि भट्टी–पसलहरू पनि फस्टाउँथे।
तर राजमार्गको निर्माणसँगै गाउँ–बस्तीमा मोटर बाटोहरू खुले। धुलो उड्दै मोटर गुड्न थालेपछि पुराना पैदल मार्गहरू हराउँदै गए। स्थानीय वृद्ध जुद्ध बहादुर थापाका अनुसार, यी बाटोहरूले इतिहास बोकेका थिए। जस्तो कि नेपाल–अंग्रेज युद्धको समय जितगढी युद्धमा गोर्खालीहरूले प्रयोग गरेको बाटो, अहिले केवल रेखा मात्र बाँकी छ। लेखक तथा सेनाप्रमुख कर्क पेट्रिकले पाल्पामा यात्रा गर्दा प्रयोग गरेको बाटो आज पनि रिब्दीकोट गाउँपालिकामा सुरक्षित छ, स्थानीय नारायण जि.सी बताउँछन्।

सामान्य लाग्न सक्ने यी बाटोहरूले हाम्रो सांस्कृतिक र ऐतिहासिक महत्व राख्छन्। तर आधुनिकताका कारण धेरै पैदलमार्गहरू अतिक्रमणमा परेका छन् वा मोटर गुडेका छन्। पूर्व पुस्ताले वर्षौँको मेहनतले बनाएका यी बाटोहरू मेटिँदै गए, जसले स्थानीयहरूलाई दुखःद अनुभूति गराएको छ।
पहिले सामान ढुवानी घोडा, खच्चर र मानव श्रममार्फत हुन्थ्यो। नुन, मट्टीतेल, कपडा, अदुवा, घिउ जस्ता वस्तुहरू यी बाटो हुँदै बजार पुर्याइन्थ्यो। पैदल यात्राले आत्मीयता, सहयोग र भाईचाराको भावना बढाउँथ्यो। तर मोटर बाटो खुलिसकेपछि यो सम्बन्ध र परम्परा हराउँदै गएको छ, स्थानीय मानबहादुर वयम्वु भन्छन्।
स्थानिय रुद्र श्रेष्ठका अनुसार, पुराना बाटोलाई संरक्षण गर्नु अत्यावश्यक छ। नयाँ सडक बनेपछि पुरानो बिर्सनु हाम्रो परम्परा भए पनि, ऐतिहासिक महत्व भएका पैदलमार्गहरूको मर्मत र संरक्षणले हाम्रो सांस्कृतिक पहिचान जोगाउँछ।
पाल्पा सँधै व्यापारीक र प्रशासनिक केन्द्र रहिआएकोले यहाँ चहलपहल रहँदै आएको थियो। सडक पूर्वाधारको विकास भए पनि पुराना बाटोले बोकेको इतिहास बढ्दो आधुनिकतासँग हराउँदै गएको छ।