Butwal Today

पहिरोले अवरुद्ध मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा

१३ आश्विन २०८२, सोमबार
अ+
अ-

चितवन, १३ असोज ।

मुग्लिङ–नारायणगढ सडकखण्डमा सोमबार बिहान खसेको सानो पहिरो केही समयमै पन्छाइएपछि अहिले दुबै तर्फका सवारी साधन नियमित सञ्चालनमा छन् । बिहान करिब सात बजे खसेको पहिरो सडक डिभिजन कार्यालय भरतपुरले तत्काल सफाइ गरेपछि आवतजावत सहज बनेको हो । कार्यालयले दशैंको भीडलाई ध्यानमा राख्दै चालकलाई लेन अनुशासन पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

यस्तै, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ क्षेत्रमा भने सडक अवरुद्ध भएको छ । अन्य अधिकांश राजमार्ग सञ्चालनमा रहेपनि लगातारको वर्षाका कारण कतिपय ठाउँमा बाटो हिलो हुने तथा सामान्य अवरोध हुने क्रम जारी रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार देशका मुख्य राजमार्गमा अवरोध हटाउन आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ ।

यसैबीच, दशैंको चापसँगै धेरै चालकले आराम बिना लामो समय सवारी साधन सञ्चालन गरिरहेको पाइएकाले दुर्घटनाको जोखिम बढ्न सक्ने चेतावनी यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको छ । महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले चालकलाई पर्याप्त विश्राम लिएर मात्र सवारी सञ्चालन गर्न आग्रह गरेका छन् ।