© 2026
काठमान्डौ, १३ असोज ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैंजस्ता प्रमुख पर्व नजिकिँदा समेत मधेस प्रदेशका शिक्षकबाट सबैभन्दा धेरै तलब नपाएको गुनासो आएको बताएका छन् ।
मन्त्री पुनका अनुसार पाँच सयभन्दा बढी शिक्षकले तलब नपाएको भन्दै फोन र इमेलमार्फत गुनासो दर्ता गराएका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्,
“तलब नपाएको भन्दै मलाई सबैभन्दा धेरै फोन मधेसबाट आएको छ। वर्षमा एकपटक आउने दशैं, तिहार र छठजस्ता चाडबाडको बेलामा समेत स्थानीय तहले ढिलासुस्ती र विभिन्न बहाना देखाई तलब रोकिदिएको ५०० भन्दा बढी गुनासो आएको छ । शिक्षा मन्त्रालयले भने पालिकाहरूलाई आवश्यक बजेट पठाइसकेको रहेछ । यस्तो बेथिति किन भयो भन्ने विषयमा म अनुसन्धान गर्दै छु र यसको समाधानका उपाय खोज्दै छु ।”
यसअघि, शुक्रबार मन्त्री पुनले आइतबारसम्म शिक्षकलाई तलब उपलब्ध नगराउने पालिकाविरुद्ध कारबाही गर्ने चेतावनी दिएका थिए ।