© २०२३
काठमाडौँ ।
सेयर बजार अब एक साता नखुल्ने भएको छ । दसैँ बिदाका कारण बजार शनिबारसम्म बन्द हुने भएको हो । दसैँ सकिएपछि आगामी आइतबारदेखि मात्रै बजार खुला हुनेछ ।
दसैँअघिको अन्तिम कारोबारमा आज बजार ११.५१ अंकले बढेको छ । यससँगै बजार परिसूचक २६६३.५१ विन्दुमा कायम भएको छ । आजको कारोबारमा २ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा १० वटा समूहका सूचक बढेका छन् भने ३ वटा समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट ट्रेडिङ समूहमा १.२८ प्रतिशतले भएको छ । होटल र अन्य समूहमा सामान्य गिरावट देखिएको छ भने बाँकी समूहका सूचकमा वृद्धि देखिएको छ । यद्यपि, वृद्धि भएका सबै समूहका सूचक १ प्रतिशतभन्दा कमले मात्र बढेका छन् ।
आज बजारमा ग्लोबल आईएमई समुन्नत योजना २ म्युचुअल फण्डको मूल्य १० प्रतिशतले बढेको छ । त्यसका विपरित, सिक्लेस हाइड्रोको शेयर १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ ।
बजारमा आज युनियन हाइड्रोपावरको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।