© २०२३
बुटवल, १२ असोज ।
विजया दशमी पर्वको अवसरमा रोटरी क्लब अफ बुटवल–चौतारीले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै पाँच जना अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर प्रदान गरेको छ । “मानवीय खुसी बाँड्न पाउनु नै साँचो पर्व हो” भन्ने भावना स्वरूप आयोजित सो कार्यक्रममा अपांगता भएका व्यक्तिहरूलाई सहयोग स्वरूप ह्वीलचेयर हस्तान्तरण गरिएको हो ।
उक्त वितरण कार्यक्रम वालिङ नगरपालिका–५ का वडाध्यक्षको संयोजनमा पूर्णबहादुर थापा र अन्जना घले, साथै अर्घाखाँची सितापुरस्थित सिर्जनशील समूहको संयोजनमा सितापुर निबासी शिवलाल पौडेल, ससिराज गुरुङ र भुलन गुरुङलाई ह्वील चेयर प्रदान गरिएको थियो ।

२०८२ असोज १० गते (२०२५ सेप्टेम्बर २६, शुक्रबार) सम्पन्न कार्यक्रममा रोटरी क्लबका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, वर्तमान अध्यक्ष राजु अधिकारी, निवर्तमान अध्यक्ष नुम्लाल पौडेल, पूर्व अध्यक्ष दिनेशमणि सुवेदी, रोटेरियन रामप्रसाद न्यौपाने लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित वक्ताहरूले यस्ता सहयोगी कार्यले अपांगता भएका व्यक्तिहरूको जीवनयापनमा सहजता ल्याउने मात्र नभई समाजमा सहानुभूति र एकताको सन्देश प्रवाह गर्ने उल्लेख गरे । क्लबले आगामी दिनमा पनि समाजका विपन्न, अशक्त र अपांगता भएका व्यक्तिहरूलाई सहयोगका कार्यक्रम निरन्तर गर्ने प्रतिवद्धता जनाएको छ ।