Butwal Today

जेनजी आन्दोलनमा क्षतिग्रस्त २९ सरकारी सवारी मर्मत, लागत झण्डै २३ लाख

१२ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १२ असोज ।

अर्थ मन्त्रालयले जेनजी युवा आन्दोलनका क्रममा आगजनीमा परेका २९ वटा सरकारी सवारी साधनको मर्मत सम्भार सम्पन्न गरेको छ । उक्त मर्मतमा करिब २३ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अप्रत्याशित र विशेष कारण देखिँदा तत्काल मर्मत आवश्यक भएकाले चारपाङ्ग्रे २९ सवारी साधनका लागि कोटेसन आह्वान गरिएको थियो । प्राप्त प्रस्तावमध्ये सिनामंगलस्थित जगन्नाथ अटो केयरले २२ लाख ७८ हजार ९५० रुपैयाँमा सबैभन्दा कम मूल्य प्रस्ताव गरेको र सोही कम्पनीमार्फत मर्मत गराइएको मन्त्रालयले जानकारी दिएको छ ।

यसै अवसरमा मन्त्रालयले यस आर्थिक वर्ष नयाँ सवारी साधन खरिद नगर्ने निर्णयसमेत गरेको छ । निर्वाचन प्रयोजन बाहेक अन्य कुनै निकायले पनि नयाँ गाडी किन्न नपाउने मन्त्रालयको भनाइ छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभर सरकारी तथा निजी सवारी साधनमा आगजनी भएको थियो । प्रारम्भिक विवरणअनुसार काठमाडौंमा मात्रै १ हजार ४२ वटा सवारी साधन क्षति पुगेका छन् । तीमध्ये ४४१ वटा चारपाङ्ग्रे र ६०१ वटा दुईपाङ्ग्रे सवारी रहेका छन् । अधिकारीहरूका अनुसार दुईपाङ्ग्रे सवारी साधन भने न्यून संख्यामा मात्र आगजनीमा परेका थिए ।