© २०२३
नेपालगञ्ज, १२ असोज ।
नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा यस वर्ष विशेष उत्साहका साथ फूलपाती भित्र्याउने तयारी गरिएको छ ।
यसअघिका वर्षहरूमा सुरक्षा निकायमार्फत मात्र भित्र्याइने फूलपाती यस पटक भने बाँकेका विभिन्न धार्मिक स्थलहरूबाट विधिवत शोभायात्रासहित ल्याई अर्पण गर्ने परम्परा सुरु हुँदै छ । यो अभियानलाई बागेश्वरी धार्मिक सर्किट र जागरण अभियानको सुरुवातका रूपमा लिइएको छ । नाट्टा बाँकेले यस कार्यलाई सफल बनाउन विशेष समन्वय गरेको छ । नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मी भन्छन्, “कार्यक्रम सफल बनाउन दायित्व सम्बन्धित पालिका र वडाले बहन गर्नेछन्, नाट्टा भने संयोजनकारी भूमिकामा रहनेछ ।”
बागेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद अधिकारीका अनुसार, यसपालि भक्तजनहरूको घुइँचो सहज, शान्तिपूर्ण र व्यवस्थित बनाउन समिति पूर्ण तयारीमा जुटेको छ । उनले भने “फूलपातीमा विभिन्न मन्दिरहरूबाट ल्याइने फूलपातीको व्यवस्थापन हामीले गर्नेछौँ । दर्शनार्थीलाई सहज वातावरण बनाउनु हाम्रो मुख्य दायित्व हो ।”
नाट्टाका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले बागेश्वरी मन्दिरलाई धार्मिक सर्किटका रूपमा चिनाउने अभियान अघि बढाइरहेको बताए । “यस अभियानले आन्तरिक मात्र नभई बाह्य धार्मिक पर्यटकलाई पनि बाँकेका धार्मिक स्थल चिनाउन मद्दत पुर्याउनेछ,” उनले भने, “फूलपाती कार्यक्रम जिल्ला भित्रै नयाँ परम्पराको थालनी हुनेछ ।”
यसैबिच, राप्ती सोनारी गाउँपालिका–३ ले भुवर भवानी मन्दिरबाट पञ्चे बाजा, थारु समुदायको सखिया नाच र विविध बाजागाजासहित नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म पुगी फर्कने कार्यक्रम तय गरेको छ । वडाध्यक्ष मिनकुमार चौधरीले धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक सबै क्षेत्रका व्यक्तिलाई सोमबार बिहान ८ बजे भुवर भवानी मन्दिर परिसरमा भेला हुन आह्वान गरेका छन् ।
त्यस्तै, खजुरा गाउँपालिका–३ को लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिले बिहान साढे ७ बजे मन्दिरमा भेला भई सामूहिक रूपमा फूलपाती बोकेर बागेश्वरी पुग्ने कार्यक्रम तय गरेको छ । समितिका अध्यक्ष शिवराज श्रेष्ठले यसलाई भव्य बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । नरैनापुर गाउँपालिका–३ का वडाध्यक्ष अजयकुमार मिश्रले बर्फानीबाबा मन्दिरबाट फूलपाती बोकेर बागेश्वरीसम्म जाने तयारी गरेको जानकारी दिएका छन् ।
त्यस्तै, नरैनापुर–६ का वडाध्यक्ष प्रेमचन्द मौर्यले पनि सन्तानेश्वर महादेव मन्दिरबाट फूलपातीसहित शोभायात्रा निकाल्ने तयारी गरेको जानकारी दिए । यसरी बाँकेका विभिन्न पालिका र मन्दिरबाट फूलपाती ल्याई बागेश्वरीमा अर्पण गर्ने नयाँ धार्मिक परम्परा सुरु हुँदैछ ।
यसले बागेश्वरीलाई बाँकेकै मात्र होइन, समग्र लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक सर्किटका रूपमा चिनाउने अपेक्षा गरिएको छ ।