© २०२३
काठमाडौं, १२ असोज ।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको छैटौं अधिवेशनका कामकारबाहीको विवरण सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरिएको विवरणमा अधिवेशन अवधिभर भएका गतिविधिहरूलाई १२ शीर्षकमा वर्गीकृत गरिएको छ ।
प्रतिनिधिसभाको छैटौं अधिवेशन २०८२ साल वैशाख १२ गते शुक्रबार प्रारम्भ भई भदौ २७ गते शुक्रबारसम्म सञ्चालनमा थियो । यो अधिवेशन १४१ दिनसम्म कायम रह्यो, जसमा ५९ दिन ६१ पटक बैठकहरू बसे ।
यही अधिवेशनको अन्त्यतिर, भदौ २३ र २४ गते, जेनजीको नेतृत्वमा भएको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।
त्यसपछिको राजनीतिक गतिरोधका कारण प्रतिनिधिसभाबाट नयाँ सरकार बन्न नसकेको अवस्थामा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचनको मिति घोषणा गरेका हुन् ।
यसै सन्दर्भमा संसद् सचिवालयले छैटौं अधिवेशन अवधिभर भएका कामकारबाहीहरूको विवरण सार्वजनिक गरेको हो ।
छैटौं अधिवेशनले वर्षे अधिवेशनको रूपमा नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो । बजेटसम्बन्धी आश्रित विधेयकहरू समेत यस अधिवेशनमार्फत पारित भएका थिए ।
प्रतिनिधिसभामा सो अधिवेशनमा १० वटा सरकारी विधेयक दर्ता भएका थिए । तीमध्ये ३ वटा विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भए भने २ वटा विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको थियो ।
४ वटा विधेयक समितिमा विचाराधीन रहेका थिए । त्यस्तै, नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न भएको सचिवालयले जनाएको छ ।
अघिल्ला अधिवेशनहरूबाट प्राप्त १८ वटा सरकारी तथा २ वटा गैरसरकारी विधेयकहरूमध्ये ४ वटा विधेयक संघीय संसदबाट पारित भएका थिए । संघीय निजामति सेवा विधेयक र जलस्रोत विधेयकसम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश सभामा टेबुल गरिएको थियो ।
विद्यालय शिक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन पनि यस अधिवेशनमा सभामा पेश भएको थियो । त्यस्तै, १० वटा विधेयक समितिमा विचाराधीन अवस्थामा छन् भने २ वटा गैरसरकारी विधेयक दर्ता मात्र भएका थिए ।
राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सभामा टेबुल मात्र भएको उल्लेख छ ।
राष्ट्रिय सभाबाट उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक पनि समितिमा विचाराधीन रहेको छ । अघिल्ला अधिवेशनहरूमा राष्ट्रिय सभाबाट प्राप्त ७ वटा विधेयकमध्ये शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक सभाबाट पारित भई पुनः राष्ट्रिय सभामा फिर्ता पठाइएको छ ।
बाँकी विधेयकहरू समितिमा विचाराधीन छन् भने राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत मात्र भएको उल्लेख गरिएको छ ।
प्रतिनिधिसभाको चालू अधिवेशनमा सदस्यहरूद्वारा विभिन्न मन्त्रालयसँग सम्बन्धित १७७ वटा मौखिक र १० वटा लिखित प्रश्न दर्ता भएका थिए । तीमध्ये १६४ वटा मौखिक र ९ वटा लिखित प्रश्नको उत्तर प्राप्त भएको संसद् सचिवालयले जनाएको छ ।