© २०२३
तौलिहवा, १२ असोज ।
नेपाल–भारत सीमा खुन्वान नाकामा नियमित चेकजाँचका क्रममा भन्सार विभागले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। विभागले शुक्रबार १४ किलो ३ सय ७६ ग्राम थाइ गाँजा बरामद गरी दुई जनालाई पक्राउ गरेको जनाएको छ। बरामद गरिएको गाँजाको अन्तर्राष्ट्रिय बजार मूल्य करिब १४ करोड ३७ लाख ६० हजार रुपैयाँ अनुमान गरिएको छ।
गाँजा दुईवटा मेड इन थाइल्याण्ड गीजरभित्र विशेष तरिकाले लुकाइएका अवस्थामा भेटिएको थियो। भन्सार अधिकारीका अनुसार घटनास्थलमै मैनुद्दीनका छोरा एहतेशम र भारतको केरलास्थित कोझिकोडका नौशादका छोरा मोहम्मद रसिदलाई पक्राउ गरिएको हो।
अनुसन्धानमा थाइल्याण्डमा लामो समयदेखि काम गर्दै आएका दुवै जना गाँजाको तस्करीमा संलग्न रहेको प्रस्ट भएको छ। उनीहरूले गाँजा नेपाल हुँदै काठमाडौं, त्यसपछि दिल्लीमार्गे केरलास्थित आफ्नै घरसम्म पुर्याउने गरेको स्वीकार गरेका छन्।
भन्सार टोलीले गीजरका मोटर र अन्य पार्टपुर्जा हटाउँदा साना प्याकेटमा प्याक गरिएका गाँजा फेला परेको थियो। “नियमित चेकजाँचका क्रममा सूक्ष्म निगरानी गर्दा उक्त गाँजा बरामद भएको हो,” भन्सार महानिर्देशक अनिल सिंहले जानकारी दिए।
बरामद गरिएको गाँजा र गीजर विभागले नियन्त्रणमा लिएर दुवै अभियुक्तलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार चलान गरिएको छ।