© २०२३
काठमान्डौ, १२ असोज ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ६५ सय राउन्डभन्दा बढी गोली प्रहार गरेको आन्तरिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रहरीको आन्तरिक अध्ययनअनुसार ती दुई दिनमा मात्र ४ हजार जङ्गी राउन्ड र २५ सयभन्दा बढी रबर बुलेट प्रयोग गरिएको उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले लुटिएका हतियार र खर्च भएका गोलीको विवरण संकलन गर्न अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मीको नेतृत्वमा समिति गठन गरेको थियो । अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले तयार गरेको विवरण आईजीपी चन्द्र कुवेर खापुङलाई बुझाइएको छ ।
समितिको प्रतिवेदनअनुसार प्रदर्शन नियन्त्रणका क्रममा २५ सयभन्दा बढी ब्ल्याङ्क राउन्ड पनि प्रहार गरिएको छ, जसले आवाज मात्र उत्पन्न गर्छ तर प्रहारले प्रभाव पार्दैन ।
यसैगरी, भिड नियन्त्रणका लागि प्रहरीले झण्डै ८ हजार सेल अश्रुग्याँस प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । काठमाडौँ उपत्यकामा मात्रै ४ हजार सेल अश्रुग्याँस प्रहार गरिएको थियो । उपत्यकाभित्र बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँलगायत स्थान अश्रुग्याँस प्रयोगका प्रमुख क्षेत्र बने ।
प्रहरी प्रधान कार्यालय सुरक्षार्थ खटिएका प्रहरीले मात्र करिब १३ सय राउन्ड अश्रुग्याँस प्रहार गरेको भेटिएको छ । मधेस प्रदेशमा भने झण्डै ६ सय सेल अश्रुग्याँस प्रहार गरिएको आन्तरिक विवरणमा उल्लेख छ ।