© २०२३
नवलपरासी, १२ असोज ।
दसैँ नजिकिँदै गर्दा सामान्यतया बजार क्षेत्रहरूमा भिडभाड बढ्ने गर्दछ । तर यस वर्ष नवलपरासीका बर्दघाट, सुनवल, परासी, गोपिगञ्जलगायतका बजार क्षेत्रमा भने अपेक्षित चहलपहल देखिएको छैन । पसल व्यवसायीहरू आफ्नो पसल खोले पनि किनमेल गर्ने ग्राहकको कमिले बजार प्राय सुनसान देखिन्छ ।
यसको विपरीत, सीमापारि भारतका भैंसालोटन, ठूठीबारी, बर्गदवा जस्ता बजारहरूमा भने नेपाली ग्राहकको भिडभाड उल्लेख्य रूपमा बढेको छ । दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, सजावट सामग्रीदेखि दसैँका अन्य सामग्री किन्नका लागि नेपालीहरू भारतीय बजारतर्फ आकर्षित भएको देखिन्छ ।
सामान्यतया अन्य बेलामा पनि नेपालीहरू सस्तोमा सामान पाइने भन्दै किनमेलका लागी सीमावर्ती बजार ठुठीबारी जाने गर्दछन् । जिल्लाको सदरमुकाम परासीमा केही सामान्य चहलपहल देखिएपनी अन्य क्षेत्रमा भने ग्राहकहरूको बाक्लो उपस्थिति देखिँदैन ।
स्थानीय व्यापारीका अनुसार भारतीय बजारमा समान वस्तु सस्तो पर्नु र विभिन्न विकल्प पाइनु नै नेपाली उपभोक्तालाई आकर्षित गर्ने प्रमुख कारण हो । ‘दसैँको बेलामा पनि ग्राहक कुरेर बस्नु परेको छ,अलि अलि भएनी दशैको व्यापारले बैङ्कको ब्याज किस्ता घटाउन सकिन्छ कि भन्ने थियो तर गाह्रो भयो’ बर्दघाटका एक फेन्सी व्यवसायीको भनाई छ ।
सीमावर्ती क्षेत्रमा यो प्राय सधैँको समस्या भएकाले यसको नियन्त्रण गर्न र नेपाली व्यवसायीलाई प्रोत्साहन गर्न सक्नु पर्ने गोपिगन्जका एक खाद्यान्न व्यापारीले भने ।
‘सम्पन्न मानिसहरू विलासीताका सामान चाहिँ नेपालमै किनमेल गर्छन् तर सामान्य दैनिक उपभोग्य सामान किन्न चाहिँ सीमावर्ती बजार पुग्छन्,हुन त ग्राहकको स्वतन्त्रता हो तरपनी हामीले अझै पनि नेपाली बजार र व्यवसायप्रति आकर्षण गर्न सकेका छैनौ कि,आखिर हाम्रो पैसा त बाहिरियो नि’ बर्दघाटमा रहेको साथी मार्टका सञ्चालक विष्णु खनालले भनिन ।
दसैँको समयमा नेपालका स्थानीय बजार सुनसान रहँदा भारतीय बजारमा भने नेपालीको भिडभाड बढ्दै जानु आम व्यवसायीका लागि चिन्ताको विषय बनेको छ । विविध समस्याका कारण व्यवसायीहरू विस्थापित हुनु पर्ने अवस्था आएको छ भने नयाँ व्यवसायीहरू आकर्षित हुन सकेका छैनन् ।