© २०२३
काठमाडौं, १२ असोज।
अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आइतबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, नेपालको हालको राजनीतिक परिस्थिति, तथा जापानले प्रदान गर्दै आएको आर्थिक र सामाजिक सहयोगका विषयमा छलफल भएको हो ।
अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको प्रमुख उद्देश्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गरे । त्यहीँबीच पुनर्निर्माण र आर्थिक–सामाजिक विकासका कार्यहरूलाई पनि निरन्तरता दिइने बताए ।
छलफलका क्रममा नागढुंगा सुरुङ मार्ग परियोजना र तनहुँ जलविद्युत् आयोजना लगायत जापानी सहयोगमा भइरहेका अन्य परियोजनाहरूको प्रगति र सहकार्यबारे विचारविमर्श भएको थियो ।
साथै, कोटेश्वर इन्टरसेक्सन सुधार परियोजना, बीपी राजमार्ग पुनर्निर्माण लगायतका योजनाहरू पनि निकट भविष्यमा सम्झौताका चरणमा पुग्न लागेको विषयमा समेत छलफल गरिएको थियो ।
उक्त बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा पनि सहभागी थिए ।