© २०२३
बुटवल, ११ असोज ।
तिलोत्तमाका कराते खेलाडीहरुको बेल्ट टेस्ट सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघ रुपन्देही जिल्ला कमिटी र न्यू इन्भाइरन्मेन्ट डोजाङ्गको आयोजनामा तिलोत्तमा–५ स्थित न्यू इन्भाइरन्मेन्ट इङ्गलिश सेकन्डरी स्कूलमा कराते सिक्दै आएका विभिन्न तहका खेलाडीहरुको बेल्ट टेस्ट सम्पन्न भएको हो ।
एक कार्यक्रमका बिच बेल्ट टेष्टमा उत्तीर्ण खेलाडीहरूलाई विद्यालयका प्रबन्ध निर्देशक हरि न्यौपाने, विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवाली, नेपाल कराते महासंघ प्रदेशका महासचिव बासु बस्याल, सितोरियो कराते महासंघ प्रदेश अध्यक्ष सन्तोष सिह, वरिष्ठ प्रशिक्षक भुपेन्द्र सिह, नेपाल सितोरियो कराते संघ रुपन्देही अध्यक्ष नारायण बहादुर थापा, खेलप्रेमी मधु पाण्डेयले प्रमाणपत्र वितरण गरे ।
खेलकुद अभ्यासमा निरन्तरता दिनुका साथै अनुशासन, परिश्रम र समर्पणसहित अघि बढ्न विद्यालयका प्रबन्ध निर्देशक हरि न्यौपानेले खेलाडीहरुलाई सुझाव दिए । उनले खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै सफलता हासिल गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बेल्ट टेस्ट प्रमुख प्रशिक्षक दिलमाया रानाले नियमित अभ्यास, उत्तम तालिम र पर्याप्त तयारीले मात्र खेलाडीलाई सफलताको शिखरमा पु¥याउन सक्ने उल्लेख गरिन् । उनले विद्यालयस्तरमै खेलकुदलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । बेल्ट टेष्टमा ह्वाइट बेल्टदेखि ब्राउन बेल्टसम्मका १०४ जना खेलाडीले बेल्ट परीक्षणमा सहभागिता जनाएका थिए । परीक्षणपछि उनीहरूलाई सीप र क्षमता मूल्यांकनको आधारमा बेल्ट वितरण गरिएको थियो ।
नेपाल सितोरियो कराते संघ जिल्ला रेफ्री संयोजक तथा प्रशिक्षक उमेश थापाले कराते खेलको दिगो विकास र सक्षम खेलाडी उत्पादनमा अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे । खेल सिकाईमा स्रोत र सुविधाबारे ध्यान दिने र बच्चालाई अभ्यासमा निरन्तरता दिन प्रेरित गर्ने जस्ता भुमिका अभिभावकको हुने उनले बताए ।