© २०२३
बुटवल, १२ असोज ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ का केशव मुखिया चटपटे बेचेर आफ्नो दैनिकी चलाइरहेका छन् । कक्षा ५ मा पढ्ने बेलासम्म उनले व्यवसाय गर्छु भन्ने सोंचेका थिएनन् । जब उनले व्यवसाय गरिरहेका आफ्ना बाबुलाई गुमाए । त्यसपछि बाबुले सुरु गरेको चटपटे व्यवसाय सञ्चालनको जिम्मा उनको काँधमा आइ पुग्यो । अहिले उनी अर्घाखाँचीमा “चटपटे केशव” का रुपमा चिनिन्छन् ।
बुबाका मृत्यु पछि घरको आर्थिक अवस्था कमजोर भएकाले केशवले पढाइ छोडेर व्यवसाय रोजेका हुन् । “धेरैले भने, तिमी पढ, यो काम त पछि पनि गर्न सकिन्छ, तर परिस्थिति यस्तो आयो कि पढाइ छोडेर ठेलामै लाग्नुप¥यो”– केशव सम्झिन्छन ।
पानीपुरी, चटपटे र चाट बेचेर सयौं ग्राहकको हरेक दिन मन जित्दै आएका केशवले यो सफलता यत्तिकै पाएका भने होइनन् । “मैले यसका लागि लामो संघर्ष गरेको छु, संघर्ष र मेहनतबाट म अहिलेको अवस्थामा आएको हुँ”–उनले भने ।
कलिलो उमेरमा व्यवसाय सम्हाल्न पुगेका उनलाई सदरमुकाम सन्धिखर्कका धेरै स्थानीयले सहानुभूति स्वरूप पानीपुरी किनिदिए । त्यही सहानुभूतिपछि स्थायी ग्राहक र समर्थन उनलाई प्राप्त भयो । “मलाई स्थानीयले सहानुभूति दिनुभयो, जसले गर्दा व्यवसाय गर्न हिम्मत र आँट आयो”–केशवले स्मरण गरे । २० हजार लगानीबाट सुरु भएको व्यवसाय अहिले ५० हजार पुगेको छ । यो कम लगानीमा धेरै प्रतिफल दिने व्यवसाय हो ।
सुरुमा उनले तरकारी राख्ने क्यारेटमा पानीपुरी बेच्ने गर्थे । जब व्यवसाय बढ्दै गयो, उनले ठेला किने । लगातार ८ वर्षसम्म उनले शान्तिबगैंचामा पानीपुरी र चटपटे बेच्दै व्यवसायमा ग्राहकको पकड बनाउँदै लगे । ग्राहक बढ्दै जाँदा अहिले दिनमा सयभन्दा बढी मानिसहरू उनको चटपटेको स्वाद चाख्न आउँछन ।
“सुरुमा चटपटे, पानीपुरी किन्ने ग्राहकले मलाई माया, हौसला दिनुभयो । अहिले ती सबै मेरा नियमित ग्राहक बन्नुभएको छ,” केशव भन्छन् । उनले पानीपुरी बेच्न थालेको १० वर्ष भयो । “दिनमै खर्च कटाएर २ देखि ३ हजार बचत हुन्छ । महिनामा ५० हजारसम्म कमाइ हुन्छ”– केशव गर्वका साथ भन्छन् । स्कुले विद्यार्थीदेखि नेतासम्म उनको ग्राहक सूचीमा छन् ।
केही समयअघि उनलाई शान्तिबगैंचामा ठेला राख्न समितिले रोक लगायो । त्यसपछि उनले सन्धिखर्ककै गुन्टेखोलामा एक सटर भाडामा लिएर व्यापार सुरु गरे । स्थान फेरिए पनि ग्राहकको प्रेम उस्तै रह्यो । “स्वाद र निरन्तरता नै सफलताको आधार भएको उनी बताउँछन् ।
आफूले पढ्न नपाए पनि भाइबहिनीलाई पढाउन उनले कहिल्यै कन्जुस्याइँ गरेनन् । दिदी पवित्रा पाणिनि बहुमुखी क्याम्पसमा स्नातक गर्दैछिन् भने भाइ अर्जुन पनि स्नातक तह प्रथम वर्षमा अध्ययनरत छन् । “मैले पढ्न पाइन, तर भाइबहिनी पढुन् भन्ने चाहना सदैव रह्यो,” केशव भन्छन् । उनले पानीपुरी बेचेरै सदरमुकाम नजिकै हटारीमा घडेरी किनेर साढे दुईतले घर समेत बनाएका छन् । उनलाई यो पेसा गर्न उनको परिवारले निकै साथ, सहयोग र हौसला दिएका छन् ।
केशवको व्यवसाय अहिले स्थानीयमा मात्र सीमित छैन, सामाजिक सञ्जाल टिकटकमार्फत चर्चित बनेको छ । उपभोक्ताले उनले बनाउने चटपटे र पानीपुरीको भिडियो टिकटक, फेसबुक जस्ता सोसल मिडियामा शेयर गर्दा उनको लोकप्रियता झनै बढेको हो ।
टिकटकबाटै थाहा पाएर केशवको चटपटेका नियमित ग्राहक बन्न पुगेका स्थानीय व्यापारी राजु पाण्डे भन्छन्, “केशवले मेहेनत गरेरै उद्यमी बन्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । उनको व्यवसायले सदरमुकामकै नाम उजागर गरेको छ ।”
पाणिनि बहुमुखी क्याम्पसकी विद्यार्थी रेखा घर्ती मगर भन्छिन्, “उनको पानीपुरी र चटपटे सन्धिखर्क सदरमुकाममै प्रख्यात र भाइरल छ । मलाई चटपटे खान मन लाग्दा साथीहरूलाई लिएर यतै आउँछु ।”
नेपालमा रोजगार छैन भन्दै विदेश जाने धेरै युवाको भीडमा केशव अलि फरक छन् । “देशमै बसेर इमानदारीपूर्वक काम गरे राम्रो कमाइ गर्न सकिन्छ,” उनी भन्छन्, “कुनै पनि सानो कामलाई हेप्नु हुँदैन । मेहनत, इमानदारी र लगनशीलता भए देशमै धेरै गर्न सकिन्छ । आमा, दिदी र भाइसँग बस्दै आएका केशवले आफूलाई व्यवसायमा परिवारको पुरै साथ रहेको बताउँछन् ।