© २०२३
चन्द्रौटा(बुटवल टुडे), १२ असोज ।
पाल्पाको तिनाउ गाउँपालिका–५, घघुँराछापस्थित अमर प्राथमिक विद्यालयका प्रधानाध्यापक टेक बहादुर भण्डारी पछिल्लो समय विवादमा तानिएका छन् । विद्यालयमा जम्मा ८ जना विद्यार्थी मात्र रहे पनि भण्डारी प्रायः कपिलवस्तुको विजयनगर गाउँपालिकामा देखिने गरेको स्थानीयको आरोप छ ।
विद्यालयमा भण्डारीसहित तीन जना शिक्षक कार्यरत छन् र कक्षा ३ सम्म पठनपाठन हुँदै आएको छ । तर प्रधानाध्यापक भण्डारी कार्यक्षेत्रमा भन्दा गाउँपालिकाका चोक–चौराहादेखि नास्ता पसलसम्म देखिने गरेको आरोप छ । उनले जनप्रतिनिधि र कर्मचारीलाई ‘भ्रष्ट’ भन्दै सार्वजनिक स्थल र सामाजिक सञ्जालमा निरन्तर टिप्पणी गर्ने गरेको स्थानीयले बताएका छन् ।
भण्डारीले विद्यालय विकट भएको कारण देखाउँदै विजयनगर गाउँपालिकामा सरुवा हुन पटक–पटक प्रयास गरे पनि सफल हुन सकेका छैनन् । स्रोतका अनुसार उनले सरुवाका लागि वडाध्यक्षदेखि शिक्षा शाखासम्म आग्रह मात्र नभई आर्थिक प्रस्तावसम्म राखेको तर अस्वीकार भएपछि असन्तुष्ट बनेका हुन् ।
यसैक्रममा उनले सामाजिक सञ्जालमार्फत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गर्दै कठोर टिप्पणी गर्ने गरेका छन् । विजयनगरमा सरुवा नमिल्दा पालिकालाई इंगित गर्दै सञ्जालमा प्रतिक्रिया जनाएका छन् । “वाक स्वतन्त्रता मेरो अधिकार हो, कानुन म सँगै छ” भन्दै आफूलाई कानुनको विद्यार्थीका रूपमा प्रस्तुत गर्ने भण्डारीले कसैले पनि रोक्न नसक्ने दाबी गर्दै आएका छन् ।
यता गाउँपालिकाका एक कर्मचारी भने भण्डारीले शिक्षकको आचारसंहिता विपरीत राजनीतिक रंगमञ्चमा सक्रियता देखाएको आरोप लगाउँछन् । “शिक्षकलाई चाहिने गुणभन्दा फरक अभ्यास गर्दै उनले शिक्षण पेशालाई बदनाम बनाएका छन्,” विजयनगरका एक कर्मचारीले भने ।
तर अमर प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र घर्ती मगरले भने भण्डारी नियमित रूपमा विद्यालयमा हाजिर हुने गरेको दाबी गरेका छन् । उनका अनुसार बाहिर जाँदा उनले समितिलाई जानकारी गराएरै जाने गरेका छन् । यता प्रअ भण्डारीले आफूले आफू नियम संगत विदाको समय घरमा बस्ने गरेको बताउँछन् ।
यसरी एकातर्फ भण्डारीले आफूलाई कानुनको ज्ञाता र स्वतन्त्र अभिव्यक्तिको पक्षधरका रूपमा प्रस्तुत गरे पनि अर्कातर्फ उनी शिक्षा नियमावली २०५९ अन्तर्गत शिक्षकले पालना गर्नुपर्ने आचारसंहिताको धज्जी उडाएका छन् ।