© २०२३
दसैँ तिहारको समय आफैमा नेपालीहरुको लागि उल्लासपूर्ण समय हो । अध्ययन, व्यापार र अन्य कारणले घरबाट टाढा गएकाहरु यिनै चाडको बेलामा गाउँघर फर्कने भएकोले यो समय सबैको प्रिय समय मानिन्छ । सबैजना भेट हुने र संगै बस्ने अवसर पाइने भएकोले पनि यो समयले सामाजिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । दसैँ तिहारको समयमा स्कुल कलेज र अन्य संस्थाहरुमा लामो बिदा हुने भएको र मौसम पनि राम्रो हुने भएकोले दसैँ तिहारको समयलाई घुमफिरको लागि उपयुक्त समय मानिन्छ त्यसैले धेरैजनाले घुमफिरको लागि दसैँतिहार बिदा नै पर्खेर बसेको देखिन्छ । घुमफिर गर्न सबैलाई मन लाग्ने भएपनि कहाँ र कसरी जाने भन्ने बारेमा जानकारी नहँुदा त्यत्तिकै खुम्चेर बस्न बाध्य हुन्छन । कहाँ घुम्न जाने भन्ने कुराको निर्णयमा आफूसँग उपलब्ध समय, स्वास्थ्य अवस्था, रुची र खर्च गर्न सक्ने रकमले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यिनै कुराहरुलाई ध्यानमा राख्दै बुटवल सेरोफेरोमा बसोबास गर्नहरुका लागि घुमफिरका लागि उपयुक्र ठाउँ यहाँ प्रस्तुत गरिएको छ ।
१. मनमोहक तराई

प्रायजसोले घुमफिर गर्ने भन्ने बित्तिकै पहाड र हिमाली क्षेत्रहरु रोज्ने गरेका हुन्छन् । तर, तराई क्षेत्रमा घुमफिर गरेर पनि भ्रमणको आनन्द लिन सकिन्छ भन्ने कुरामा कमैको ध्यान गएको हुन्छ । असोज– कात्तिक महिना तराई घुम्नको लागि उपयुक्त समय हो । ठिक्कको मौसम, खुलेको आकाश अनि हरियालीले भरिपूर्ण तराई घुम्न आफैमा आनन्ददायक हुन्छ । नारायणी नदीमा बनेको लामो झोलुंगे पुलले धेरैलाई आकर्षित गर्छ । नर्सही गाउँका केराबारीहरु हेर्दै रामग्राम र पाल्ही भगवतीको दर्शन गरेर हुलाकी राजमार्ग हुँदै भैरहवा आएर मर्चवार पुग्न सकिन्छ । मधेश संस्कृतिको धनी मर्चवार क्षेत्रमा प्रसिद्ध मर्चवारीमाईको मन्दिर समेत रहेको छ । मर्चवारबाट लुम्बिनी निस्केर त्यतैबाट तौलिहवा पुग्न सकिन्छ । कुदान, तौलिस्वरनाथ, तिलौराकोट र जगदीशपुर ताल घुम्दा घुमघामको आनन्द लिन सकिन्छ । तौलिहवाबाट पुराना बजारहरु महाराजगंज, बहादुरगंज हेर्दै चन्द्रौटा निस्केर विजयनगर गाउँपालिकामा रहेको शंकरताल अवलोकन गर्न सकिन्छ । शिवगढीÞमा चढ्न सके झनै राम्रो. नभए सुरइ नाका नजिक रहेको तातोपानीको कुण्डमा नुहाएर बुटवल फर्कन सकिन्छ । ३ दिन समय निकाल्ने हो भने सुस्तादेखि सुरई नाकासम्म मज्जाले घुम्न सकिन्छ । त्यति समय छैन भने कुनै एक स्थललाई केन्द्र बनाएर एकदिन घुमेर पनि तराई भ्रमणको मज्जा लिन सकिन्छ ।
२. रुकुम र सल्यान

मुगु सम्मको यात्रा गर्न नसक्नेहरुका लागि सल्यान र रुकुम सम्मको यात्रा रोचक हुन सक्छ । बुटवलदेखि सात घण्टामै सल्यान जिल्लाको सुन्दर कपुरकोट भन्ने ठाउँमा पुगिन्छ । अधिकांश समय कुहिरोको घुम्टोमा लुक्ने कपुरकोट कुनै हिल स्टेसन भन्दा पनि कम छैन । त्यहाँको वनस्पति उद्यान हेर्न लायक छ । कपुरकोट देखि छायाक्षेत्र घुमेर खलंगामा बास बस्न सकिन्छ । दोश्रो दिन रुकुमको मुसिकोट, चौरजहारी घुमेर सिस्ने हिमाललाई हेर्दै मध्य पहाडी लोकमार्ग हुदै पूर्वी रुकुमको रुकुमकोट पुगिन्छ । त्यहाँको प्रसिद्ध कमल दह हेरेर सोही बाटोबाट तुलसीपुर फर्केर दाङ उपत्यका घुमेर पाँच दिनमा मज्जाले बुटवल फर्कन सकिन्छ । दाङ फर्कन नचाहनेहरु तकसेरा, लुकुम हुदै बाग्लुङ्गको बुर्तिवाङ निस्केर रिडी घुम्दै बुटवल आउन पनि सक्छन् । सार्वजनिक बस, साना सवारी साधन वा मोटर साइकलबाट पूरा गर्न सकिने यो यात्राको लागि १५ हजार रुपियाँ र पाँच दिन समय भने छुट्याउनु पर्छ ।
३.रोल्पा र प्युठान

५ दिने यो यात्राको सुरुवात घोराहीबाट गर्नुपर्छ । पहिलो दिनमा बुटवलबाट घोराही हुँदै होलेरी पुग्न सकिन्छ । माओवादी युद्धले चर्चित बनाएको होलेरीदेखि दोश्रो दिनमा प्रसिद्ध स्वर्गद्वारी मन्दिरको दर्शन गरेर भिंग्री झरेर सुलिचौर हँुदै रोल्पाको लिवाङ पुग्न सकिन्छ । जनयुद्धका कथा र व्यथाहरु बोकेको रोल्पा प्राकृतिक र साँस्कृतिक रुपमा सम्पन्न मानिन्छ । खर्च र समयले भ्याउने भएमा जलजला क्षेत्रमा पदयात्रा गर्न सकिन्छ. रोल्पाबाट फर्केर विजुवार हँुदै खलङ्गा वा मच्छी पुगेर बस्न सकिन्छ । त्यहाँबाट समय भएमा गुल्मी निस्केर तानसेन हुँदै बुटवल झर्न वा भालुवाङ हँुदै बुटवल आउन सकिन्छ । प्रतिव्यक्ति १२ हजार खर्च हुने यो यात्राको लागि मोटर साइकललाई सवारी साधन बनाउनु राम्रो हुन्छ ।
४. रिडी हुँदै रेसुङ्गा

आध्यात्मिक र पर्या पर्यटनको लागि रिडी उपयुक्त स्थल हो । रिडीको ऋषिकेश मन्दिरको दर्शन गरेर कालीगण्डकी नदीमा नुहाएर तीनमुखे पुलबाट तीनवटा जिल्ला टेक्न सकिन्छ । यो समयमा गण्डकीमा पर्याप्त पानी हुने भएकोले त्यहाँको दृश्य निकै आकर्षक हुन्छ । रिडीमा एकदिन बसेर बलेटक्सार हुँदै चोएघाको मन्दिर दर्शन गरेर तम्घास बास बस्न पुगिन्छ । त्यो दिन तम्घास घुमेर अर्कोदिन बिहानै रेसुङ्गा जानु राम्रो हुन्छ, रेसुङ्गामा आध्यात्मिक शान्ति मात्र प्राप्त हुँदैन, मनोरम हिमाली र पहाडी दृश्यहरु हेर्न र चराचुरुंगीसंग रमाउन समेत सकिन्छ । रेसुङ्गा घुमेर तम्घासमा आई रिडी, रानीमहल, तानसेन हुँदै बुटवल फर्कन वा सन्धिखर्क पुगेर अर्घाखाँची घुमेर बुटवल फर्कन सकिन्छ. खल्तीमा १० हजार भए यो यात्रा गर्न सकिन्छ ।
५. ढोरपाटन

नेपालको प्रसिद्ध शिकार आरक्ष ढोरपाटन पर्या–पर्यटनको लागि उपयुक्त छ । बाग्लुङ, रुकुम र डोल्पाको केही भूभागमा फैलिएको यो आरक्षको मुख्य भाग ढोरपाटन उपत्यका नै हो । आलु र भेडाको लागि प्रख्यात यो उपत्यकामा हिमाली जीवजन्तु र तिब्बती संस्कृति समेत अवलोकन गर्न सकिन्छ । बुटवलदेखि रुद्रवेनी, बुर्तिबाङ हुँदै एकै दिनमा ढोरपाटन पुग्न सकिन्छ । होमस्टे र मध्यम खालका होटेलहरु भएकोले बस्न र खानको कठिनाइ महसुस गर्नु पर्दैन । चिसो मौसम, हरियाली र नजिकैका पाटनहरुमा फुलेका हिमाली फूलहरुले त्यहाँ पुग्नेहरुलाई पक्कै पनि लोभ्याउन सक्छ । चार दिन समय हुने र १०÷१२ हजार रुपैयाँ भन्दा बढी खर्च गर्न चाहनेहरुका लागि यो क्षेत्र भ्रमणको लागि राम्रो गन्तव्य हुन्छ ।
६. नदी तटीय यात्रा

रोहिणी, तिनाउ, बाणगंगा यहाँका प्रसिद्ध नदीहरु हुन् र यी नदी किनारमा सयौ वर्षदेखि थारु सभ्यता हुर्किरहेको छ । छोटो समय हुनेहरुले यी नदीहरुको किनारै किनारा साईक्लिङ र पदयात्रा गर्न सक्छन् । बुटवलबाट सुखौरा नदीको किनार हुँदै पुरानो थारु गाउँ मद्रहानी पुगेर कुँवरवर्ती मन्दिर घुमेर तुकतुकिया, मोहनाजोत, सग्रहवा, ठठेरिया, कानापारासम्म पुग्दा थारु सभ्यताको राम्रो अवलोकन गर्न सकिन्छ । कानपारामा स्तरीय फिस रिसोर्ट समेत भएकोले त्यहाँ लोकल माछा, हाँस, कुखुराका विभिन्न परिकार खाँदै थारु समुदायसंग अन्तरक्रिया गर्न सकिन्छ । बुटवलबाट तिनाउ नदीको किनारा हुँदै मर्चवार क्षेत्रको दुई मुहानसम्म पुग्दा प्राचिन व्यापारिक मार्गलाई महसुस गर्न सकिन्छ. दानो नदीको किनारमै रहेको छपिया क्षेत्र अहिले मत्स्य पर्यटनको हब बनिरहेको छ । दानो नदीको किनार हुँदै कर्साघाट, सूर्यपुरा, धमौलीका बस्तीहरु हेर्दै लुम्बिनी जान सकिन्छ । बाणगंगा नदीको उद्गम ठाडादेखि पैदलयात्रा गरी रामघाटसम्म पुग्दा नदी सभ्यता र थारुहरुको बदलिदो संस्कृति प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
७. अर्घाखाँची

धार्मिक र पर्या–पर्यटनको लागि अर्घाखाँची यात्रा उपयुक्त छ । बुटवलदेखि एकै दिनमा सुपा देउरालीको दर्शन गरेर नरपानीको चिसो खादै सन्धिखर्क पुग्न सकिन्छ । नरपानीमै बसेर हिमाली दृश्य हेर्दै खाँचीकोट अवलोकन गर्न सकिन्छ । सन्धिखर्क बास बसेर अर्घा भगवती दर्शन गरेर मथुरा, बलकोट घुम्दै रिडी पुग्न सकिन्छ । समय भएमा छत्र महाराजको मन्दिर दर्शन गरेर उतैबाट तम्घास पुगेर रेसुङ्गाको आनन्द लिन सकिन्छ । सन्धिखर्क घुमेर ढोरपाटन मार्ग हँुदै सालझण्डी निस्केर वा निगालीबाट पाणिनी तपोभूमि घुमेर छहरा– बतासेको चिसोमा लुटपुटिदै तानसेनको सेरोफेरो घुम्दै बुटवल आउन सकिन्छ । तीन दिन समय र १० हजार रुपैयाँ खर्च छुट्याउने हो भने यो यात्राको मज्जा लिन सकिन्छ ।
८.कालिगण्डकी सेरोफेरो

कालिगण्डकीको सेरोफेरो सांस्कृतिक, धार्मिक र पर्यावरणीय रुपले निकै सम्पन्न ठाउँ भएकोले बुटवलबासीको लागि यो क्षेत्र घुम्नु जरुरी छ । रामपुरका फाँट, घुमेको काली गण्डकीले बनाएको खालिवनको टापु, राम्दिका मठमन्दिर र गुफा, रानिघाटको रानीमहल, प्रसिद्ध रुरु क्षेत्र, आलमदेवी मन्दिर, मिर्मिको ड्याम, मिर्मि जलाशयमा बोटिङ, सेतिवेनी दर्शन जस्ता अवसरहरु कालिगंण्डकीको सेरोफेरो भ्रमण गर्दा प्राप्त गर्न सकिन्छ । २÷३ दिन समय छुट्याउने हो भने यी मध्ये धेरै ठाउँहरु मज्जाले घुम्न सकिन्छ । यातायात र होटलका सुविधा भएका यी क्षेत्रहरु घुम्नको लागि खासै खर्च पनि लाग्दैन ।
९. चुरे पदयात्रा

धेरैजनालाई लामो यात्रा गर्न जाँगर चल्दैन र उनीहरुसँग समय पनि हँुदैन । गाडीमा लामो यात्रा गर्न नचाहने र पैदलै घुमफिर गर्न रुचाउनेहरुको लागि चुरे क्षेत्रको पदयात्रा निकै उपयुक्त हुन्छ । चुरे पहाडको संरचना जति सरल छ त्यो भन्दा रमाइलो छ यहाँको सामाजिक र पर्यावरणीय जीवन । १÷२ दिन पदयात्रा गर्न चाहनेहरुको लागि चुरे पहाडमा निकै सुन्दर ठाउँहरु छन् । देवचुलीदेखि चुरे पहाडै पहाड राकाचुली, सर्दी बगैचा हुँदै दुम्कीवास, सुनवल नगरपालिकाको महल पोखरी, भुटुके, हात्तीलुङ हँुदै माथागढी निस्केर देवदहको खैरेनी, खैरेनीदेखि माथागढ़ी, ज्यामिरे, हात्तिकोट हुदै चरङ्गे वा झुम्सा पदयात्राका लागि राम्रा ठाउँहरु हुन् । यो रुटमा यात्रा गर्दा चुरेको साँस्कृतिक र जैविक विविधताका साथै मनोरम हिमाल, हरिया पहाड र आँखाले भ्याउन्जेल देखिने तराईका सुन्दर मैदानको अवलोकन गर्न सकिन्छ । एकैदिनमा फर्कन चाहनेहरुका लागि नुवाकोट, वसन्तपुर, सत्यवती, झिंगामारा, स्यालवास, ठाडा, तानसेन उपयुक्त ठाउँ हुन् । फरक रुची राख्नेहरुका लागि बाउबाजेले नुन बोकेको नुवाकोट–दोभान–सिस्नेखोला –मस्यामको यात्राले पनि रोमान्चकता थप्छ । उल्लेखित स्थानमा यात्रा गर्नको लागि धेरै खर्च चाहिदैन, मात्र जोस र जाँगरको आवश्यकता पर्छ ।
१०.छेउँछाउँमै छन् घुम्ने ठाउँ

घुमफिर गर्न त सबैलाई मन लाग्छ तर घुमफिरको लागि सबैसंग समय हुँदैन । आफ्नो साधन नभएका र समय कम भएकाहरुले घुम्ने ठाउँपनि हाम्रै छेउँछाउँमा प्रशस्तै छ । शंकरनगर वनबाटिका, मोक्षधाम, मुक्तिधाम, गजेडी ताल, गैडहवा ताल, जगदीशपुर ताल, तौलिहवा सेरोफेरो, लुम्विनी, देवदह सेरोफेरो, बर्दगोरिया, बाउन्न घोला सिमसार, संसारकोट, दाउन्ने, त्रिवेणी र वाल्मिकी आश्रम नजिकका घुम्न लायक ठाउँ हुन् । यी बाहेक हाम्रै छेउँछाउँका पुराना गाउँबस्तीहरु घुम्न सकेमा समाज र संस्कृुतिका धेरै कुराहरु सिक्न पाइन्छ । थोरै समयमा नजिकका नौला ठाउँमा घुमियो भने पनि धेरै जानकारी त प्राप्त हुन्छ नै शरीरमा स्फूर्ती समेत आउँछ ।
धेरैको नजरमा अझैपनि घुमफिर गर्नु भनेको काम नभएका र दाम खर्च गर्नेहरुले गर्ने काम हो भन्ने सोचाइ राखेको पाइन्छ । वास्तवमा यो संकीर्ण सोचाइ हो । स्वास्थ्यको लागि, ज्ञानको लागि, सामाजिक सदभाव र मेलमिलापको लागि पनि बेलाबेलामा घुमफिर गर्नु राम्रो हो । घुमफिरले जीवन र जगतलाई बुझ्न मद्दत गर्छ । सामाजिक अगुवाहरुलाई समाजको वस्तुस्थिति बुझ्न, व्यवसायीहरुलाई व्यावसायिक योजना बनाउन, विद्यार्थीहरुलाई विषयवस्तु बुझ्न र शिक्षकहरुलाई सिकाउने कुराको संग्रह गर्न भ्रमणले ठुलो मद्धत गर्दछ । पारिवारिक र साथीहरुसँगको घुमफिरले आपसी आत्मीयता वृद्धि गर्दछ । घुम्नको लागि धेरै टाढा जानै पर्दैन । आफ्नो समय र खर्च गर्ने क्षमता अनुसार घुम्ने ठाउँहरु हाम्रै सेरोफेरोमा रहेकोले आफूलाई अनुकूल हुने ठाउँमा घुमफिर गर्दा यो दसैँ तिहारलाई अविस्मरणीय बनाउन सकिनेछ ।














