© 2026
नवलपरासी, ११ असोज ।
पटक–पटक म्याद थप्दै काम गर्दै आएको जिल्लाको हुलाकी राजमार्ग अन्तर्गत परासी—नारायणचोक— गोपिगंज खण्ड सम्पन्न नहुँदै भत्किए पछि पुनः टालटुल गर्न थालिएको छ । ठेक्काको म्याद सकिएको ८ वर्ष बित्दा पनि कामले पूर्णता नपाउँदै सडक भत्किन थालेपछि निर्माण व्यवसायीले सोही सडक टालटुल गर्नु परेको हो ।
सरकारले निर्माण कम्पनीलाई पटक–पटक म्याद थप गर्दा पनि सडक निर्माण गर्दा कमसल सामग्रीको प्रयोग गरेर सम्बन्धित निर्माण कम्पनीले सडकको काम सकाएको देखाउँदै आए पनि अहिले सडक ठाउँ ठाउँमा भत्किएपछि ठेकेदारले टालटुल गर्दै आएको स्थानीयले देखाए ।
कुल १४ किलोमिटर सडक बनाउन सात वर्ष बित्न लाग्यो तर सडकको निर्माण कार्य अझै पुरा हुन नसकेको प्रति स्थानीयले आक्रोश र निराशा व्यक्त गर्न थालेका थिए । हुलाकी राजमार्गको सो खण्डको मर्मतका लागि २०७३ फागुन १५ गते कन्चनजंघा, बिरुवा शिवशक्ति जेभिले सम्झौता गरेको थियो ।
२०७५ फागुन १४ गते भित्र सडक स्तरोन्नतिको कार्य सम्पन्न गर्ने पहिलो म्याद थियो । तर सो म्याद भित्र राजमार्गको कार्य सम्पन्न हुन नसकेपछि सरकारले पटक–पटक म्याद थप गर्दै आएको छ ।
कुल २५ करोड १९ लाख ५ सय ५० रुपियाँ भ्याट सहितको कबोल अङ्कमा निर्माण कम्पनीले सडक स्तरोन्नतिको ठेक्का लिएको थियो, तर अहिलेसम्म सडकले पूर्णता नभएको सरावल गाउँपालिकाका सञ्जय मौर्यले बताए ।
ठेकेदार र सरकारसँग के कसरी ठेक्का गर्ने र काम गराउने सहमति हुँदो रहेछ, त्यो जनतालाई त थाहा हुँदैन, उनले भने, तर सम्झौता गर्दा म्याद दिँदा सरकारले पहिला थोरै म्याद भित्र काम सम्पन्न गर्ने गरी जनता भुलाउन खोज्ने गरेका छन् ? कि साँच्चै सरकारी प्राविधिक र निर्माण कम्पनी बिचको केही साँठगाँठ हुने गरेको छ, त्यो कुरा बुझ्न गाह्रो भएको छ ।
ठेकेदारलाई पटक–पटक म्याद थपिदिने कारणले पनि निर्माण कम्पनीले बदमासी गर्न गरेको स्थानीयको आरोप छ । ठेकेदारलाई बढीमा एक पटक मात्र म्याद थप हुन सक्छ, त्यो भित्र पनि गर्न नसकिए ती निर्माण कम्पनीलाई कारबाही किन सरकारले गर्दैन ? उनले प्रश्न गरे ।
निर्माण कम्पनीले काम नगर्ने म्याद थप माग गर्दै जाने हो, भने एउटा सडक बनाउन दशक लाग्ने गरेको छ । यसले जनतालाई छल्ने काम मात्र भएको छ । निर्माण कम्पनीले गुणस्तरहीन काम गर्दा पनि सरकारी प्राविधिक मौन हुन्छन्, स्थानीयले विरोध गरे त्यसलाई थापथुप पार्ने कार्य सरकारी प्राविधिकले नै गर्छन् ।
जति बेला चाहे त्यही बेला उनीहरूलाई म्याद थपिँदै जान्छन् सरकार जनताको हो ? कि ठेकेदारको हो ? सरकारलाई जनताले कर तिर्ने गरेका छन् । दातृनिकायले जनताको समस्या समाधान होस् भनेर अनुदान दिने गरेका छन् ।
तर यहाँ सरकारी कर्मचारी जनता र दातृनिकाय प्रति उत्तरदायी भन्दा ठेकेदारकै गुनगानमा लाग्ने गरेका छन् । सरकारले पुरा रेटको काम गर्दा ठेकेदारहरूले नै कममा काम गर्ने भन्दै टेन्डर भर्ने गरेका छन् ।
पछि तिनै प्राविधिकलाई प्रभावमा पार्दै निर्माण कार्यमा ढिलाइ गर्दै आउने गर्दा सडक निर्माण कार्य ढिलाइ हुने गरेको छ । सडकको काम पुरा नहुँदै धेरै स्थानमा बनेको सडक मर्मत गर्ने बेला भई सक्यो, तर राम मार्गको काम सम्पन्न हुन सकेका छैनन् ।
राणाकालीन एक शताब्दी पहिला पूर्व–पश्चिम जोड्ने हुलाकी राजमार्ग हो, उनले ब्यंगात्मक शैलीमा भने, शताब्दी पछि स्तरोन्नति हुने राजमार्गको काम पनि कम्तीमा दशक त लाग्छ नै ।