Butwal Today

भ्रष्टाचारबारे केही सूचना चुहिएको छ,अनुसन्धानमा ब्रेकथ्रु हुन्छ: गृहमन्त्री अर्याल

१० आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १० असोज ।

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गर्दै अपराध अनुसन्धानमा अब ठूला उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् ।

हालैको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले लाजिम्पाटस्थित सीआईबी कार्यालयमा तोडफोड गर्नुका साथै आर्थिक अपराध अनुसन्धान महाशाखामा रहेका कागजात समेत जलाएका थिए ।

अनुगमनका क्रममा सीआईबी अधिकृतलाई निर्देशन दिँदै गृहमन्त्री अर्यालले भने, “अब अपराध अनुसन्धानमा ब्रेकथ्रु हुन्छ ।”

यसअघि मन्त्रिपरिषद्ले सीआईबीको प्रमुखमा एआईजी डा। मनोज केसीलाई सरुवा गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कमान्ड गरेका केसीले पदभार समालेसँगै गृहमन्त्री अर्यालले पनि सीआईबी भ्रमण गरेका थिए । उनले राजनीतिक कनेक्सनका कारण रोकिएका वित्तीय अपराध र भ्रष्टाचारसम्बन्धी अनुसन्धान अब अघि बढ्ने बताए ।

उनले भने, “राजनीतिक कनेक्सनको आधारमा अवरुद्ध भइरहेका अनुसन्धानहरू अब अघि बढ्छन् । भ्रष्टाचारबारे केही सूचना चुहिएको छ, तर अन्तरिम सरकारको पहिलो सर्त सुशासन हो । त्यसैले अनुसन्धानमा हुने अवरोध हटाउनुपर्छ, हामीले सुशासन प्रवर्द्धन गर्ने हो ।”