© 2026
काठमान्डौ, १० असोज ।
चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक यातायातमा हुने अनियमिततालाई रोक्न सरकारले कडाइ गर्ने भएको छ ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै स्वीकृत भाडादरभन्दा बढी रकम असुल गर्ने, टिकटको कालोबजारी गर्ने वा वितरणमा अवरोध गर्नेहरूलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको हो ।
विभागले जारी गरेको सूचनामा चाडपर्वमा यात्रुहरूको सहज आवागमनका लागि पूर्वमै विभिन्न निर्णय भए पनि स्वीकृत भाडादर विपरीत बढी भाडा असुल गर्ने, टिकटमा कालोबजारी गर्ने र सेवामा असहजता सिर्जना गर्ने गुनासो बढिरहेको उल्लेख गरिएको छ ।
यी समस्या रोक्न विभागले सरोकारवालाहरूलाई स्वीकृत भाडादर र कानुनअनुसार मात्र टिकट काट्न तथा वितरणमा अनलाइन सेवासहित व्यवस्थित प्रणाली अपनाउन आग्रह गरेको छ ।
“अत्यावश्यक सार्वजनिक सेवाको व्यवस्थापनसम्बन्धी प्रचलित कानुन, नेपाल सरकारले स्वीकृत गरेको भाडादर तथा विगतमा चाडपर्वलाई लक्षित गरी लिइएका निर्णय विपरीत कार्य गर्नेहरूमाथि कानुनबमोजिम कारबाही गरिनेछ,” सूचनामा उल्लेख छ ।
विभागले चाडपर्वको भीडभाडमा यात्रुहरूलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न आवश्यक सबै कदम चालिने स्पष्ट पारेको छ ।