© २०२३
काठमान्डौ, १० असोज ।
देशका २८ कारागार र नौ सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागार फर्किएका छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार फर्किएकामध्ये कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेका छन् । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैं फर्किएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याएको हो ।
हाल पनि छ हजार ४९४ कैदीबन्दी फरार छन् । फरारमध्ये कारागारबाट पाँच हजार ८७२ र सुधारगृहबाट ६२२ जना छन् । उनीहरूको खोजी कार्य जारी रहेको निर्देशक न्यौपानेले जानकारी दिएका छन् ।
गत भदौ २४ मा भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए । यसबीचमा १० कैदीबन्दीको मृत्यु भएको थियो । देशभरका कारागारमा कुल ३० हजार ६४६ कैदीबन्दीमध्ये हाल २३ हजार ४४६ जना मात्रै बाँकी छन् ।