Butwal Today

नेपाल मेडिकल काउन्सिल: ८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल

१० आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १० असोज ।

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर चिन्ता निम्त्याएको छ ।

एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौं विद्यार्थी पहिलो चरणमै असफल भएका छन् । विशेषगरी डेन्टल (बीडीएस) तर्फको नतिजा अत्यन्तै निराशाजनक देखिएको छ ।

काउन्सिलका अनुसार यसपटकको परीक्षामा ६१ प्रतिशत परीक्षार्थी असफल भएका छन् । गत बुधबार र बिहीबार सम्पन्न परीक्षामा सहभागी १ हजार ७७ मध्ये ६ सय ५६ जना अनुत्तीर्ण भएका हुन् । एमबीबीएसतर्फ ८ सय ९४ जना सहभागीमध्ये ३ सय ८६ जना मात्रै सफल भए भने बीडीएसतर्फ १ सय ८३ जना सहभागीमध्ये करिब ८१ प्रतिशत फेल भए ।

यसरी एमबीबीएसमा ४२ प्रतिशत र बीडीएसमा मात्र १८ प्रतिशत विद्यार्थीले सफलता हात पारेका छन् । समग्रमा पास दर ३९.०९ प्रतिशतमा सीमित भएको काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवले जानकारी दिए। उनका अनुसार असफल हुनेमध्ये अघिल्ला परीक्षामै फेल भएकाहरूको संख्या उल्लेख्य छ ।

यस्तो कमजोर नतिजाले विश्वविद्यालय र कलेजहरूले प्रदान गर्दै आएको शैक्षिक गुणस्तर, अध्यापन पद्धति, पाठ्यक्रम र विद्यार्थीहरूको तयारीबारे गम्भीर प्रश्न उठाएको छ ।

उता, चिकित्सा शिक्षा आयोगले हालै मात्र एमबीबीएस र बीडीएसमा भर्ना सिट संख्या बढाउने निर्णय गरेको अवस्थामा यस्तो नतिजा आउनुले गुणस्तर खस्किएको स्पष्ट सन्देश दिएको सरोकारवालाहरूको टिप्पणी छ । आयोगले ३० साउनमा सम्पन्न २१औं बैठकबाट एमबीबीएसमा १ हजार ३ सय ५९ सिट थपेर २ हजार ६ सय ३५ पुर्‍याएको र बीडीएसको सिट ६ सय २५ बनाएको थियो ।

विज्ञहरूले सिट संख्या बढाएर मात्रै डाक्टर उत्पादन गर्ने नीति दीर्घकालीन रूपमा घातक बन्न सक्ने चेतावनी दिएका छन् । उनीहरूको भनाइमा अब सरकार र नियामक निकायले चिकित्सा शिक्षाको सम्पूर्ण ढाँचा पुनरावलोकन गर्दै कमजोर शैक्षिक संस्थामाथि कडाइ गर्नुपर्छ । साथै, विद्यार्थीलाई लाइसेन्स परीक्षामा सक्षम हुने स्तरमा तयार पार्ने प्रणाली तत्काल लागू गर्नुपर्ने आवश्यकता देखिएको छ ।