© २०२३
बुटवल, १० असोज ।
प्रहरीको मानसिक स्वास्थ्य सुदृढ बनाउने र नागरिकसँगको सम्बन्धलाई अझ विश्वासिलो बनाउन ‘राइज अगेनः साहसको उडान’ शीर्षकको उत्प्रेरणात्मक कार्यशाला बुटवलमा सम्पन्न भएको छ ।
इलाका प्रशासन कार्यालय बुटवलको समन्वयमा र बुटवल जेसिजको आयोजनामा सम्पन्न कार्यशालामा बुटवल, देवदह र सैनामैना क्षेत्रका प्रहरी अधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख उद्देश्य “प्रहरी मेरो साथी” भन्ने अवधारणालाई व्यवहारमा उतार्दै प्रहरी र समुदायबीचको विश्वासलाई बलियो बनाउनु रहेको थियो । साथै, व्यक्तिगत आत्मगौरव र सामूहिक साहसलाई प्रोत्साहन गर्दै, कार्यस्थलमा सजिलै प्रयोग गर्न सकिने सेल्फ केयर रुटिन, आत्म–हेरचाहका सीप र मानसिक सशक्तिकरणमा जोड दिइएको थियो ।

कार्यशालामा प्रमुख प्रशिक्षकको रूपमा नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक रमेश अर्यालले प्रशिक्षण दिए । उनले बोडी म्यापिङ, ग्राउन्डिङ, फोर ए फ्रेमवर्क, र सिविटी आधारित इमिडियट स्ट्रेस रिलिफ टुल्समार्फत प्रहरीहरूलाई व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरे ।
प्रशिक्षण विचार, भावना र व्यवहारको अन्तरसम्बन्धमा केन्द्रित रह्यो, जसले आत्म–चिन्तन र व्यावसायिक समर्पणबीच सन्तुलन बनाउन प्रहरीलाई सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले उदघाटन गरेका थिए । शुभकामना मन्तव्यमा बुटवल जेसिजका कोषाध्यक्ष यदुमणि पोख्रेल, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष अनुपान सैजु, र देवदह जेसिजका अध्यक्ष दिपक अधिकारीले प्रहरीको मनोबल र मनो–सशक्तिकरणका यस्ता कार्यक्रमहरू निरन्तर भइरहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बुटवल जेसिजका महासचिव प्रकाश गैरेले पनि आफ्नो धारणा राखेका थिए ।
यस कार्यशालाले प्रहरी सेवा भित्र सकारात्मक सोच, आत्मगौरव, र सशक्त मानसिकता विकास गर्न टेवा पु–याउने विश्वास लिइएको छ।