© २०२३
काठमान्डौ, १० असोज ।
सरकारले दशैँ, तिहार लगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको अवसरमा पारेर भाडादर वृद्धि नगर्न सचेत गराइएको बताए । उनले सरकारको तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा टिकट बिक्री गरेर यात्रुहरूलाई राहत दिन निर्देशन दिएको जानकारी दिए । हवाई टिकटको न्यूनतमदेखि अधिकतमसम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ ।
त्यसैगरी, प्राधिकरणले चाडपर्वमा आन्तरिक हवाई यात्रुहरूको सुविधा सुनिश्चित गर्न अतिरिक्त उडानको व्यवस्था गरेको जनाएको छ । देशमा दैनिक करिब १० हजार यात्रुले आन्तरिक उडान गर्ने गरेका छन् भने दशैँ–तिहारमा यो संख्या १८ हजारसम्म पुग्ने अनुमान गरिएको छ ।
प्राधिकरणले यात्रुको सहजता सुनिश्चित गर्दै चाडपर्वमा सुरक्षा र सुविधा दुवैका पक्षलाई ध्यानमा राखेको स्पष्ट पारेको छ ।