© २०२३
काठमान्डौ, १० असोज ।
जेन–जी आन्दोलनका चर्चित अभियन्ता मिराज ढुंगाना शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेटघाट गरेका छन् ।
सामाजिक सञ्जालमार्फत जेन–जी आन्दोलनको तयारीमा सक्रिय देखिएका ढुंगाना आन्दोलन सुरु हुनु अघिल्लो दिन दुर्गा प्रसाईँलाई भेट्न गएको घटनापछि विवादमा तानिएका थिए । उनले आफू प्रसाईँलाई आन्दोलनमा सहभागी नहुन सम्झाउन गएको प्रष्टिकरण दिए पनि सो कदमले प्रश्न खडा भएको थियो ।
ढुंगाना भने भदौ २३ र २४ गतेको आन्दोलनमा सहभागी भएनन् । आफू आएमा केही युवाहरूले विरोध गर्ने चेतावनी दिएका कारण सडकमा ननिस्किएको उनले सार्वजनिक गरेका छन् । आन्दोलनका दिन उनी आफ्नै फूल व्यवसायमा व्यस्त रहेको समेत उनले स्पष्ट पारेका छन् ।
आन्दोलनपछाडि सुधन गुरुङ अगाडि बढ्दै जेन–जी नेतृत्वको मुख्य पात्रका रूपमा उभिए । उनी सैनिक मुख्यालयदेखि शीतल निवाससम्म सक्रिय देखिए भने हाल पनि उनी उच्च तहसम्मको पहुँचमा रहेको जनाइएको छ । तर ढुंगाना भने लामो समय ओझेलमा परेका थिए । यस क्रममा सुधनले आन्दोलन ‘हाइज्याक’ गरेको आरोप समेत लाग्दै आएको छ ।
ओझेलमा रहेका ढुंगाना फेरि सार्वजनिक जीवनमा देखिन थालेका छन् । यही क्रममा उनले आज प्रधानमन्त्री कार्कीसँग भेटेर अनौपचारिक संवाद गरेको बालुवाटार स्रोतले जनाएको छ ।