© २०२३
मानिस चेतनशील प्राणी हो, ऊ आमाको कोखबाट जन्मिएर, हुर्कँदै अगाडि बढेको हुन्छ। यो जीवनमा हरेकका आफ्नै संघर्षहरू छन्, हरेकसँग सफलता त कतै असफलताका कथाहरू पनि समेटिएका हुन्छन्। वास्तवमा जीवन यही हो—कतै सफलता, कतै असफलता—दुबै परिस्थितिलाई सन्तुलनमा राख्न सके मात्र जीवन जिउनुको मजा आउँछ।
आज धेरै मानिसहरू आमाको कोखबाट जन्मिएका छन्, परिवारको पालनपोषण पाएका छन्, तर केही यस्ता पनि छन् जसलाई आफ्ना आमाबुबाको अत्तोपत्तो छैन। आमाबाबुको माया, परिवारको माया भन्ने चिज कस्तो हुन्छ भनेर महसुस गर्न पाएका छैनन्। धन्न, त्यस्ता व्यक्तिहरूका लागि आश्रय दिने ठाउँ हो—अनाथ आश्रम। अनाथ आश्रममा रहेका बालबालिकासँग आफ्नो खुसी साट्न र सकेसम्म सहयोग गर्न धेरैजसो मानिसहरू पुग्ने गरेका छन्। सायद उनीहरूमा पनि जिज्ञासा हुन्छ—त्यहाँका बालबालिका कसरी बाँचिरहेका छन्? कसरी जीवनलाई अगाडि बढाइरहेका छन्? यस्तै जिज्ञासु मध्ये म पनि एक थिएँ।
जन्मदिनको दिन अनाथ आश्रम जान नपाए पनि त्यसको दुई दिनपछि साथी विजय र म मणिग्राममा रहेको एक अनाथ आश्रममा केही स्टेसनरी सामग्री लिएर गयौँ। आश्रमको वातावरण हेर्दा यस्तो लाग्यो, हामी कुनै अलग्गै संसारमा पुगेका छौँ, जहाँ अनुशासन नै जीवनको केन्द्रबिन्दु थियो। त्यो अनुशासन आजका अधिकांश बालबालिकामा पाइँदैन होला।
हामी त्यहाँ पुग्दा बालबालिकाहरू पढ्न-लेख्नमा व्यस्त थिए। विद्यालयबाट दसैंको बिदा भइसकेकोले बिहानैदेखि गृहकार्यमा लागिरहेका थिए। ७० वर्षीया वृद्ध आमाले सञ्चालन गर्नु भएको त्यो आश्रमको वातावरण साँच्चिकै कुनै पारिवारिक परिवेशभन्दा कम थिएन। सायद उहाँले परिवारको महत्व गहिरो रूपमा बुझ्नु भएको छ। अनेकौं सामाजिक दबाबका बाबजुद सहारा नभएकालाई आश्रय दिनु सानो कुरा पक्कै होइन। समाजसेवा गर्न उमेर चाहिँदैन, मन चाहिन्छ भन्ने कुरा उहाँको संघर्षले प्रस्ट देखाउँछ।
“बुरा मत देखो, बुरा मत बोलो, बुरा मत सुनो”—महात्मा गान्धीले प्रयोगमा ल्याउनुभएको यो वाक्यांश आश्रममा रहेका बालबालिकाको स्वभावमा प्रत्यक्ष देखिन्थ्यो। जन्मदाताहरू साथमा नभए पनि अनुशासन र विनम्रता उनीहरूको व्यवहारमा प्रस्ट झल्किन्थ्यो। सायद उनीहरूले जीवनको सङ्घर्षलाई, श्रमको महत्वलाई, आश्रयदात्री आमाबाट राम्ररी बुझेका छन्।
अश्रमका ती बालबालिकालाई श्रीमद्भगवद् गीतादेखि फुटबल खेलाडी लियोनेल मेस्सीको जीवनीसम्म जानकारी थियो। तिनीहरूलाई अब्राहम लिंकनदेखि महात्मा गान्धी, र नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको सङ्घर्ष र उपलब्धिबारे थाहा थियो।
अनाथ आश्रम केवल आश्रय लिने ठाउँ मात्र होइन रहेछ, यो त कलाकारहरू जन्माउने थलो पनि रहेछ। त्यहाँ कोही गीत गाउन माहिर, कोही चित्र बनाउनमा अब्बल, कोही बोल्नमा निपुण, कोही पढाइमा अब्बल—सबै किसिमका क्षमतावान व्यक्तित्वहरूलाई आकार दिने थलो रहेछ।
सामान्यतया, बालबालिकाले दुःख दिने बित्तिकै मोबाइल थमाइन्छ, तर आश्रमका बालबालिकालाई मोबाइलभन्दा बढी सामान्य ज्ञान, इतिहास, धार्मिक ग्रन्थ, र मानव मूल्य रुचिका विषय थिए। उनीहरू मोबाइलभन्दा बढी महाभारतका कर्णलाई रुचाउँछन्। उनीहरूको जीवनबाट इमानदारी र आत्मानुशासनको पाठ सिक्न सकिन्छ।
हामी चाडपर्व आउँदा घर, परिवार, इष्टमित्रसँग रमाइरहेका हुन्छौं। तर आश्रममा बस्नेहरूको लागि घर, परिवार, इष्टमित्र भनेको त्यही आश्रमको वातावरण हो, र बेलाबेला खुसी बाँड्न आउने सहयोगी मनहरू हुन्। उनीहरूको मनभित्र के कस्तो पीडा लुकेको छ, त्यो त उनीहरू आफैले जानून्, तर अनुशासन र अनुहारको मुस्कान कहिल्यै टुट्दैन, किनभने उनीहरूले बुझेका छन्—जीवन भनेको सुख र दुःखको मिश्रण हो।
भनिन्छ, “जे चिज आफूसँग छैन, त्यसको महत्त्व बढी हुन्छ।” सायद त्यसैले होला, अनाथ बालबालिकाहरूका लागि आमा र बाबु सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन्छन्। उनीहरूले जीवनमा सफलता त प्राप्त गर्छन्, तर मनभित्र आमा-बुबाको अभाव भने रहिरहन्छ।
(ज्ञवाली, लुम्बिनी बौद्ध विश्व विद्यालय स्कुल अफ ल मा अध्ययनरत विद्यार्थी हुन् ।)