© २०२३
काठमान्डौ, १० असोज ।
नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठजस्ता चाडपर्वहरूमा डिजिटल भुक्तानीलाई सहज बनाउन डिजिटल वालेट प्रयोगकर्ताका लागि अस्थायी सुविधा दिएको छ ।
भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्र अनुसार, हाल एक ग्राहकले वालेटमा प्रतिदिन १० पटकसम्म मात्र रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ । तर, आगामी असोज १३ गतेदेखि कात्तिक ११ गतेसम्म यो संख्या अस्थायी रूपमा ४० पटकसम्म बढाइनेछ ।
राष्ट्र बैंकका अनुसार चाडपर्वको अवसरमा हुने भुक्तानीको चापलाई सहज बनाउने उद्देश्यले यो कदम चालिएको हो । रकम जम्मा गर्ने संख्या बढे पनि कारोबारको कुल रकमको सीमा यथावत राखिने जनाएको छ ।
यो निर्णयले दसैं–तिहारमा विशेष गरी दक्षिणा आदानप्रदान र अन्य आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत थप सहज बनाउने अपेक्षा गरिएको छ ।