© २०२३
काठमान्डौ, १० असोज ।
गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको दमन र विध्वंसात्मक घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा काम सुरु गरेको छ ।
आयोगले बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग परिसरमा कार्यालय स्थापना गरी असोज ९ गतेदेखि काम थालिसकेको आयोगका सदस्य, पूर्व एआईजी विज्ञानराज शर्माले जानकारी दिए ।
प्रारम्भिक चरणमा आयोगले भदौ २३ मा माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा खटिएका प्रहरी अधिकृतहरूबाट बयान लिने तयारी गरेको छ । यसका लागि हुलदङ्गा नियन्त्रणमा खटिएका प्रहरीहरूको सूची मागेर आवश्यक सोधपुछ सुरु हुने भएको छ ।
यस्तै, आयोगले गृह मन्त्रालयमार्फत सम्पूर्ण क्षतिको विवरण माग्ने निर्णय गरेको छ । उद्योग, व्यापारिक प्रतिष्ठान तथा निजी क्षेत्रमा भएको क्षतिको विवरण पनि संकलन गरिने आयोगका पदाधिकारीहरूले बताएका छन् ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारी सदस्य रहेका छन् ।