© २०२३
बुटवल, १० असोज ।
हालै जेन–जी पुस्ताले भ्रष्टाचार नियन्त्रण र सुशासनका मागसहित गरेको आन्दोलनका क्रममा भएको घटनाबारे सरकारले छानबिन आयोग गठन गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा भएका प्रदर्शनका क्रममा देखिएका भौतिक तथा मानवीय क्षतिको यथार्थ पत्ता लगाउन आयोग गठन गरिएको जनाएको छ । आयोगले भौतिक तथा मानवीय क्षतिसम्बन्धी सूचना वा निवेदन संकलन गरी प्रतिवेदन पेस गर्नेछ ।
यस्तै, सुदन गुरुङसम्बद्ध जेन–जीहरुले आन्दोलनमा सहभागी जेनजीहरुलाई पक्राउ नगर्न माग गर्दै गृहमन्त्री र नेपाल प्रहरीका आइजीपीलाई भेटेका छन् । उनीहरुले आन्दोलन शान्तिपूर्ण भएको दाबी गर्दै सरकारले दमनको बाटो नअपनाउन आग्रह गरेका छन् । जेनजी लुम्बिनीका संयोजक आदित्य आचार्यले भने, “हाल सम्म धेरै जेनजी साथीहरु जो निष्पक्ष जेनजीको एजेण्डामा केन्द्रित भएर आन्दोलनमा हुमिए ती साथीहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ तर सुक्षम ढङ्गले अनुसन्धान गरी अन्य अराजक गतिबिधि गर्नेहरुलाई मात्र कानुनको दायरामा ल्याओस् अन्य साथीहरुलाई प्रतिशोध पूर्ण ढङगले प्रकाउ नगरोस् ।”
अर्कोतर्फ सरकारले आन्दोलनका क्रममा अराजक गतिविधि गर्नेहरुलाई लुटपाटमा संलग्न भएकालाई भने कानुनी दायरामा ल्याउने तयारी गरिरहेको जनाएको छ । गृह मन्त्रालयले आयोगको काममा अवरोध पु¥याउने गतिविधि भए तत्काल कानूनी कारबाही हुने चेतावनीसमेत दिएको छ ।