© २०२३
काठमान्डौ, १० असोज ।
आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी र निर्णय प्रक्रिया पूर्ण रूपमा डिजिटल स्वीकृति प्रणालीमार्फत मात्र हुने भएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्रालयको सम्पूर्ण कार्य अब कागजी प्रक्रियामुक्त भई डिजिटल प्रणालीमा आधारित हुने बताएका छन् । उनका अनुसार आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति आदिका सबै काम अनलाइन प्लेटफर्ममार्फत मात्र सम्पन्न हुनेछन् ।
यस प्रणालीले समय, लागत र श्रम बचत गर्नुका साथै निर्णय प्रक्रियामा पारदर्शिता र कार्यगत दक्षता अभिवृद्धि गर्ने मन्त्रालयको अपेक्षा छ ।
मन्त्रालयले जनाएको अनुसार, डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कर्मचारीले हातैले गर्ने कागजी प्रक्रिया अन्त्य हुनेछ र सम्पूर्ण अभिलेख सुरक्षित रूपमा डिजिटल आर्काइभमा संग्रहित गरिनेछ ।