Butwal Today

जेनजीले खोजेको सरकार निर्माणमा प्राथमिकताका साथ लागिरहेका छौँ: मन्त्री घिसिङ

९ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ९ असोज ।

सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जेनजीले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफ्नो जिम्मामा रहेका तीन मन्त्रालयसँग सम्बन्धित गुनासा, समस्या र सुझाव पठाउने प्रक्रिया बारे जानकारी दिँदै माथिको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री घिसिङले भने, “जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी प्राथमिकताका साथ लागिरहेका छौं । एकातिर निर्वाचन सम्पन्न गराउने दायित्व हामीमाथि छ भने अर्कातिर क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्वपूर्ण छ । नेपाली जनताले सरकारबाट ठूलो आशा राखेका छन्, त्यसैले दिगो विकासका लागि बलियो आधार निर्माण गर्ने यही समय हो ।”

तीन मन्त्रालयको जिम्मेवारीले गर्दा व्यस्त भएका कारण नागरिकले खोजेको समयमा भौतिक रूपमा वा फोनमा उपलब्ध हुन नसकेको जानकारी उनले दिएका छन् । उनले लेखे, “तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी वहन गर्दै विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगाडि बढाउन तीन तहको सरकार, संरचनागत साझेदार र समुदायसँग लगातार संवाद आवश्यक पर्छ । यसै सिलसिलामा यहाँहरूले खोजेको समयमा भौतिक रूपमा वा फोनमै उपलब्ध हुन नसकेकोमा क्षमाप्रार्थी छु । तपाईंको कुरा र समस्या मेरो कार्यालयद्वारा अनुगमन भइरहेकै छन् र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइरहेको जानकारी दिन चाहन्छु ।”

मन्त्री घिसिङले नागरिकहरूलाई आफ्नो मन्त्रालयसँग सम्बन्धित कुनै गुनासा, समस्या वा सुझाव भए पठाउन आग्रह पनि गरेका छन् । यसका लागि यस्तो शैली अपनाउन उनले भनेका छन् ।

१. आफ्नो पूरा नाम, ठेगाना (गाँँउपालिका /नगरपालिका /म​हानगरपालिका) र सम्पर्क नम्बर स्पष्ट लेख्नुहोस् ।

२. सन्देशको सार संक्षेपमा (१-२ वाक्य) र आवश्यक सपोर्टिङ कागजातरफोटो भए संलग्न गर्नुहोस् ।

३. अत्यन्त जरुरी भएमा सन्देशको सुरुवातमा अर्जेन्ट /अत्यन्त जरुरी उल्लेख गर्नुहोस् ताकि सहकर्मीहरूले प्राथमिकता दिन सकून् ।