© २०२३
काठमाडौं, ९ असोज ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ अंकमा झरेको छ । कारोबार रकम पनि घटेर ३ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो दिन ४ अर्ब १२ करोड रुपैयाँको कारोबार भएकोमा आजको कारोबारमा उल्लेखनीय कमी आएको हो । दसैंको प्रभावले बजारमा कारोबार सुस्त देखिएको छ । किनभने खरिदकर्तालाई दसैंअघि डिम्याट खातामा सेयर नपाउने र विक्रेतालाई बैंक खातामा पैसा नपाउने सम्भावनाले गर्दा लगानीकर्ता निष्क्रिय बनेका छन् । दसैंअघि अब आइतबार मात्रै बजार खुल्नेछ ।
आज १०७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १३९ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
आजको कारोबारमा अधिकांश समूहका सूचकमा गिरावट देखिएको छ । बैंकिङ, लगानी र व्यापार समूहका सूचक भने सामान्य रुपमा उकालो लागेका छन् । अन्य सबै समूहमा कमी आएको छ ।
हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । त्यसपछि कालिका पावरको ६.७२ प्रतिशत र गुराँस लघुवित्तको ६.२९ प्रतिशतले वृद्धि भएको छ । उता, सिटी होटलको मूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशतले घटेको छ । नारायणी डेभलपमेन्ट बैंकको ५.८५ प्रतिशत र समता घरेलु लघुवित्तको ४.७४ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर र लुम्बिनी विकास बैंक परेका छन् ।