© २०२३
काठमान्डौ, ९ असोज ।
दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने तयारी भइरहेका बेला अहिले परीक्षण कार्य जारी छ । आयोजनाका अनुसार सुरुङमार्गको परीक्षण मुख्य सुरुङ र फ्लाइओभरमा केन्द्रित छ ।
आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार आज सुरुङको अगाडि बलम्बुमा रहेको फ्लाइओभरको परीक्षण गरिएको छ। यो परीक्षण ४८ घण्टाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।
हाल सुरुङमार्ग परीक्षणकै क्रममा रहेकाले कहिलेदेखि नियमित सवारी सञ्चालन हुने भन्ने टुंगो नभएको पनि उनले जानकारी दिए । साथै सुरुङको पश्चिमी पोर्टलमा समस्या रहेको र त्यसको समाधानका लागि काम भइरहेको उनले बताए ।
गत शनिबार यातायात व्यवसायीहरूसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दसैँमा सुरुङमार्ग सञ्चालन गर्न निर्देशन दिएका थिए । सुरुङमार्ग सञ्चालनको तयारीका लागि निर्माण कम्पनी र सरकारबीच पनि छलफल भइरहेको छ ।
दसैँको समयमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि मात्र यो सुरुङमार्ग निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।