© 2026
काठमाडौं, ९ असोज ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले आफ्नो कार्यकक्ष बाहिर टाँसिएको बोर्डबाट ‘माननीय’ शब्द हटाएका छन् । सामान्यतः मन्त्रालयका कार्यकक्षमा मन्त्रीको नाम, भित्र–बाहिरको जानकारी र व्यस्तताको स्थिति उल्लेख हुने बोर्ड राखिन्छ ।
सोही बोर्डमा मन्त्रालयका कर्मचारीले डा. पुनको नाम अगाडि ‘माननीय’ लेखेका थिए । तर, मन्त्री पुनले त्यो बोर्ड देखेपछि ‘माननीय’ शब्द हटाएर नाम मात्र लेख्न निर्देशन दिएका हुन् । उनले दिएको निर्देशनपछि कर्मचारीले नयाँ प्रिन्ट निकालेर सिर्फ नाम मात्र उल्लेख गरिएको बोर्ड टाँसेका छन् ।
यसअघि पनि मन्त्री पदको शपथ लिएर पदभार ग्रहण गर्दा महावीर पुनले आफूलाई ‘माननीय मन्त्री’ नभन्न आग्रह गरेका थिए । उनको भनाइमा, मन्त्रालयभित्र कर्मचारीले ‘मन्त्री’ भनेर सम्बोधन गर्न सक्ने भए पनि बाहिरका मानिसले सामान्य रूपमा मात्रै सम्बोधन गर्नु उपयुक्त हुने बताइएको छ ।