Butwal Today

कोलकातामा करेन्ट लागेर १० जनाको मृत्यु, भारी वर्षाले जनजीवन अस्तव्यस्त

९ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

पानीमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर भारतको कोलकातामा कम्तीमा १० जनाको ज्यान गएको छ । समाचार संस्था सिन्ह्वा का अनुसार, लगातार १२ घण्टासम्म परेको भारी वर्षाले सहरको ठूलो हिस्सा डुबानमा परेको छ, जसका कारण जनजीवन प्रभावित भएको छ ।

भारी वर्षासँगै सडकमा पानी जम्दा गाडीको आवागमनमा बाधा पुगेको छ भने मानिसहरूको दैनिक गतिविधि ठप्प भएको छ ।

बेनियापुकुर, कालिकापुर, नेताजी नगर, गरियाहाट, एकबालपुर, बेहला र हरिदेवपुर क्षेत्रहरूमा छुट्टाछुट्टै घटनामा मानिसहरूको ज्यान गएको जनाइएको छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार, पछिल्लो २४ घण्टाभन्दा कम समयमा कोलकातामा २५१.४ मिलिमिटर वर्षा भएको छ, जुन अत्यधिक मात्राको वर्षा हो ।

वर्षाले कोलकाता विमानस्थलमा पनि ठूलो असर पारेको छ । रिपोर्टहरू अनुसार, १०० भन्दा बढी उडानहरू प्रभावित भएका छन् । तीमध्ये ६२ उडान रद्द गरिएको छ भने ४२ उडान ढिलो भएको बताइएको छ ।