© २०२३
काठमाडौँ ।
भारत र पाकिस्तानबिचको क्रिकेट मैदानमा देखिएको तनाव अब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सम्म पुगेको छ । दुबै देशले एक अर्काका खेलाडीविरुद्ध आइसिसीमा औपचारिक उजुरी दिएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तानका खेलाडी हरिस रउफ र साहिबजादा फरहानविरुद्ध उजुरी दिएको हो । बीसीसीआईको आरोप छ कि एशिया कपको ‘सुपर–फोर’ खेलमा यी खेलाडीहरूले अनावश्यक हाउभाउ र आक्रामक व्यवहार देखाएका थिए ।
बीसीसीआईले फरहानको अर्धशतकपछि मनाएको शैली र रउफले बाउन्ड्री नजिक दर्शकहरूतर्फ देखाएको इशारा आपत्तिजनक भएको बताएको छ ।
त्यसैगरी, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि भारतीय कप्तान सूर्यकुमार यादवविरुद्ध उजुरी दिएको छ । सूर्यकुमारले पाकिस्तानविरुद्धको जीतलाई पहलगाम आतङ्कवादी आक्रमणका पीडित परिवारहरूलाई समर्पण गरेका थिए, जसलाई पाकिस्तानले राजनीतिक टिप्पणी भन्दै आपत्ति जनाएको हो ।
गत आइतवारको ‘सुपर–फोर’ खेलमा भारतीय ब्याटर अभिषेक शर्मा र शुभमन गिल तथा पाकिस्तानी बलर शाहीन अफ्रिदी र हरिस रउफबीच मैदानमै भनाभन भएको थियो ।
त्यसअघि समूह चरणको खेलमा दुवै देशका कप्तानहरूले हात नमिलाएको र खेलपछि अभिवादन नगरेको घटना पनि चर्चामा थियो । खेलमा देखिएको यो तनाव अब आईसीसीको छानबिनको दायरामा पुगेको छ । उजुरीहरूको मूल्याङ्कनपछि आईसीसीले आवश्यक निर्णय गर्ने बताइएको छ ।