© २०२३
काठमाडौँ ।
शक्तिशाली आँधी सुपर टाइफुन रगासाको चपेटामा परेको हङकङबाट एक अनौठो र डरलाग्दो तस्बिर भाइरल भएको छ । साउथ चाइना मर्निङ पोस्टका फोटोग्राफर एल्सन लीले खिचेको उक्त तस्बिरले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।
यो तस्बिर सामान्य देखिए पनि यसको पृष्ठभूमि अत्यन्तै खतरनाक छ । तस्बिर खिचिएको बेला हङकङमा टाइफुन चेतावनी संकेत १०, अर्थात् सबैभन्दा उच्च स्तरको सतर्कता जारी थियो । सुपर टाइफुन रगासा सो समयमा हङकङकै नजिक पुगेको थियो ।
फोटोग्राफर ली चेङक्वान ओ प्रोमेनेड पुग्दा समुद्रमा विशाल छालहरू तटमा ठोकिइरहेका थिए । त्यही बेला उनले एकजना व्यक्तिलाई समुद्रतिर फर्किएको बेन्चमा एक्लै बसेको देखे । त्यो समय बिहान साढे ६ बजेको थियो ।
यो समयमा सर्वसाधारणलाई घर बाहिर ननिस्कन कडा निषेध थियो । तर ती व्यक्ति भने समुद्रकै सम्मुख, अत्यधिक जोखिमयुक्त स्थानमा निस्फिक्री झैँ देखिन्थे । लीका लागि त्यो क्षण अचम्म र डर दुवै लाग्दो थियो ।
लीले तत्कालै ती दृश्यलाई क्यामेरामा कैद गरे । त्यसक्रममा उनले ती व्यक्तिलाई बोलाउने प्रयास पनि गरे । तर त्यो बेला समुद्रबाट उठेका छालहरू १७ मिटर (५६ फिट) अग्लो चेङक्वान ओ क्रस बे ब्रिजको दुई तिहाइ उचाइसम्म आइपुगेका थिए ।
लीले अन्ततः केही गर्न नसकी नियतिलाई हेरिरहनु परेको बताए ।
