© २०२३
सुर्खेत, ९ असोज ।
जेन–जी समूहले गरेको आन्दोलनका क्रममा भएको क्षतिको विवरण निकाल्न सुरु गरिएको छ । गत भदौ ,२३ र २४ गते भएको आन्दोलनको क्रममा सुर्खेतका कार्यालयहरुमा भएको क्षतिको अनुमानित मूल्य निकालेर जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको छ । सम्बन्धित कार्यालय प्रमुखहरुले प्रहरीको रोहबरमा क्षतिको अनुमानित मूल्य निकालिएको हो ।
हालसम्म २४ वटा कार्यालयहरुको क्षतिको मूल्याङ्कन गरिएको छ । संघअन्तर्गतका ६, प्रदेशका ५, स्थानीयतहका ११ वटा (वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र १२ वटा वडा कार्यालय) कार्यालयले क्षतिको मूल्याङ्कन बुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार ६ वटा संघीय कार्यालय र ५ वटा प्रदेश कार्यालयहरुले क्षतिको मूल्याङ्कन गरी प्रशासनमा बुझाएका छन् । प्रशासनले नियमित क्षतिको मूल्याङ्कन प्रतिवेदन सङ्कलन गरिरहेको छ । संघ अन्तर्गतका जिल्ला समन्वय समिति, सडक डिभिजन, भेरी करिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजना, नापी, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र उच्च सरकारी वकिल कार्यालयले आफ्नो कार्यालयमा आन्दोलनका बेला भएको क्षतिको मूल्याङ्कन गरी पठाएका छन् ।
यी कार्यालयले पठाएको मूल्याङ्कन अनुसार नापी कार्यालय सुर्खेतमा भवन तथा कोठा, फर्निचर, कम्प्यूटर र सवारी साधनमा दुई करोड ६३ लाख ६० हजार ९९० रुपैयाँ बराबरको क्षति भएको छ । यो कार्यालयका क्षति भएका सवारी साधनहरुको मूल्य भने खुलेको छैन । सडक डिभिजन कार्यालयको २० लाखचार हजार बराबरको एउटा सवारी साधनमा क्षति पुगेको छ । भेरी करिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालयको टाटा सफारी गाडीमा ६० हजार रुपैयाँको क्षति भएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमाभवन, फर्निचर, कम्प्यूटर लगायतका सामान क्षति भएका छन् । यसबाट ४० लाख तीन हजार बराबरको क्षतिभएको समन्वय समितिको कार्यालयले जनाएको छ ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा चार लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने उच्च सरकारी कार्यालयको क्षतिको यकिन मूल्याङ्कन रकम खुलेको छैन ।
यसैगरी प्रदेश लेखा नियन्त्रक कार्यालयमा एक करोड ३२ लाख १६ हजार ६१ रुपैयाँ ८७ पैसा बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयमा १ करोड ७९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कर्णाली प्रदेश सभा सचिवालयमा भौतिक संरचना, फर्निचर, विद्युतीय सामग्री, सवारी साधान लगायतको क्षति हुँदा ३ करोड ९४ लाख १६ हजार ३९४ रुपैयाँ क्षति मूल्याङ्कन गरिएको छ ।सामाजिक विकास मन्त्रालयमा तीन लाख ५९ हजार ९०० रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । मुख्य न्यायाधिवक्ता कार्यालयको सवारी साधन र भौतिक संरचनामा एक करोड १४ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
यस्तै स्थानीयतह अन्तर्गतका वीरेन्द्रनगर नगरपालिका र १२ वटा वडा कार्यालयमा गरि १० करोड ९० लाख ८७हजार ४ सय रुपैयाँ क्षति मूल्याङ्कन भएको छ ।
नगरपालिकाको २ करोड ४६ लाख३९ हजार बराबरको क्षति भएको जनाइएको छ । यसभित्र सुर्खेत सिटी हलको पनि क्षति समावेश गरिएको छ ।